काठमाडौँ , पुस २ ।
काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अत्यन्त प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरुका साथ प्लेअफ चरणमा पुगेपछि अझ रोचक बन्ने देखिएको छ । हालसम्म सम्पन्न २८ वटा खेलका नतिजाले आगामी खेलहरुले नेपालमा क्रिकेटको लोकप्रियतालाई झन् उचाइमा लैजाने स्पष्ट छ ।
नेपालका सबै प्रदेशको प्रतिनिधित्व गरेका आठ टोलीमध्ये चार टोली शीर्ष स्थानमा पुगेका छन् । यसमध्ये सर्वाधिक १२ अङ्क हासिल गर्न सफल सुदूरपश्चिम रोयल्स तथा अङ्क तालिकामा १० अङ्क प्राप्त गरेर दोस्रो स्थानमा पुगेको जनकपुर बोल्डसबीच पुस ३ गते बुधबार दिउँसो प्रतिस्पर्धा हुँदैछ । शीर्ष दुई स्थानमा पुगेका यी दुई टोलीबीच क्वालिफायरमा भिडन्त हुन लागेको हो । यसमा जित्ने टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम र जनकपुर दुवै टोलीले अत्यधिक म्याच जितेकाले दुवै टोलीका खेलाडीहरुमा उच्च मनोबल रहेको पाइएको छ । दुवै टोलीले प्रतियोगता जित्ने दाबी गर्दै आएका छन् ।
सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सुरुदेखि नै उपाधि जित्ने बताउँदै आएका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथाको कालापत्थरको ढुङ्गा अङ्कित ट्रफी आफ्नो प्रदेशमा लैजान सफल हुने कप्तान ऐरको आत्मविश्वास रहेको छ । एनपिएलको पहिलो म्याचमा विराटनगर किङ्गसलाई सहज रुपमा पराजित गरेर आफ्नो बलियो उपस्थिति देखाएको जनकपुर टोलीका कप्तान अनिल शाह पनि मधेश प्रदेशमा ट्रफी भित्र्याउन दृढ रहेका छन् । यी दुवै टोलीले विगतका म्याचहरुमा ब्याटिङ, बलिङ प्रदर्शन गर्दै दर्शकहरुको मन जितेका छन् । एनपिएल क्रिकेटमा खेल्न विभिन्न कीर्तिपुर रङ्गशालामा दिनहुँ भइरहेको दर्शकहरुको भीडले गर्दा अत्यन्त लोभिएका छन् । सुदूरपश्चिम तथा जनकपुरको म्याच भएको बखत कीर्तिपुर रङ्गशालामा दर्शकको सङ्ख्या अत्यधिक हुने गरेकाले बुधबारको खेलमा पनि दर्शक व्यवस्थापन चुनौती हुन सक्ने आकलन गरिएको छ । सुदूरपश्चिम टोलीका समर्थकहरुले देउडा तथा जनकपुरका समर्थकहरुले स्थानीय भाखामा नाचगान गरेर माहौल रमणीय बनाउँदै आएका छन् ।
खेलमा पूर्वानुमान गर्न कठिन हुन्छ । एनपिएलमा सशक्त उपस्थिति देखाएको सुदूरपश्चिम तथा जनकपुर जस्तो टोलीलाई पराजित गर्न सफल चितवन राइनोज टोली अहिले अङ्कको आधारमा तेस्रो स्थानमा रहेको छ । बुधबार बिहान समान ८ अङ्क प्राप्त गरेको चितवन राइनो तथा कर्णाली याक्सबीच खेल हुँदैछ । तर काठमाडौँ गुर्खाजले पनि समान आठ अङ्क हासिल गरे तापनि रनरेटका आधारमा प्लेअफबाट बाहिरिनु प¥यो । लिग चरणमा चितवन टोली कर्णालीसँग सात रनले पराजित भइसकेको भएता अब हुने ‘इलिमिनेटर’ प्रतिस्पर्धा चितवन र कर्णाली टोलीका लागि महत्वपूर्ण मानिएको छ । क्वालिफायरमा पराजित हुने टोलीसँग इलिमिनिटरमा जित्ने टोलीले खेल्नेछ । विजयी हुने टोलीका लागि फाइनलको ढोका खुल्ला हुनेछ ।