रानीवन पाठशालामा विज्ञान र कला प्रदर्शनी २०२४ सम्पन्न

काठमाडौँ, पुस १०

– त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा डाक्टर एमएल शर्माको प्रमुख आतिथ्यमा विज्ञान र कला प्रदर्शनी २०२४ सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय स्तरका ब्याडमिन्टन खेलाडी राज कुमार पोखरेल विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा विद्यार्थीले विज्ञान र प्रविधिको व्यावहारिक प्रयोग प्रस्तुत गर्दै आफ्ना सिर्जनशील विचार र क्षमताहरू प्रदर्शन गरे। यस अवसरमा विद्यालयका प्रधानाध्यापक माधव बेल्बासेले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा व्यवहारमुखी शिक्षा प्रदान गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार यस्ता प्रदर्शनीले विद्यार्थीलाई व्यावहारिक ज्ञान हासिल गर्न प्रेरित गर्छन्।

प्रमुख अतिथि एमएल शर्माले गुणात्मक शिक्षालाई निरन्तरता दिन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। “विद्यार्थीको सिर्जनशीलता र ज्ञानको आदान-प्रदानका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक छन्,” उनले भने।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायको उत्साहजनक उपस्थिति रहेको थियो। प्रदर्शनीले विद्यालय र विद्यार्थीहरूबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
उक्त एक्स्पोमा १५ भन्दा बढी स्टल रहेका थिए।

सेयर गर्नुहोस्