काठमाडौँ –
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।
मंगलबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पाँच वर्ष संसद् मात्रै स्थिर रहने नभई प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने गरी संविधान संशोधन जरुरी रहेको बताए।
उनले अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको हुनुपर्नेमा जोड दिए। उनले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा ठूलो नभएको भन्दै संविधान संशोधनको ढोका खोल्दा स्थिर सरकार र प्रधानमन्त्रीको कुरामा जोड दिनुपर्ने बताए।
अब समुन्नतिको सन्दर्भमा मेलमिलाप जरुरी रहेको उनको भनाइ थियो। महामन्त्री शर्माले सरकारका आगामी नीति तथा प्राथमिकता तीन चरणमा काम गर्ने गरी ल्याउनुपर्ने बताए।
‘हामीलाई ५ वर्ष स्थिर रहने संसद् मात्रै होइन, अब पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहियो। अबको मेलमिलापको बहस त्यहाँ हुनुपर्छ। संविधान संशोधनको ढोका खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ठूलो कुरा होइन,’ उनले भने।






