भरतपुरको रामघाटमा अनियन्त्रित बलेरोको ठक्करबाट एक महिलाको मृत्यु

चितवन, पुस १९-

भरतपुर महानगरपालिका–४ रामघाटमा अनियन्त्रित बलेरोको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको छ । महिलालाई ठक्कर दिएर अघि बढेको बलेरोले उनको घरमा समेत क्षति पुर्‍याएको छ ।

बिहीवार बेलुका ६ः२० बजेको समयमा नारायणगढबाट शिवघाटतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ च १२४४ नम्बरको बलेरो अनियन्त्रित भई नजिकै उभिरहेकी स्थानीय ४५ वर्षीय नुरजहान खातुनलाई ठक्कर दिएको थियो । खातुनलाई ठक्कर दिएपछि उक्त बलेरो उनको घरमा पनि ठोक्किन पुगेको थियो ।

बलेरोको ठक्करबाट घाइते भएकी खातुनको चितवन मेडिकल कलेजमा बिहीवार बेलुका ६ः३५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

बलेरो चालक भरतपुर–२७ घर भई हाल नवलपुरको गैडाकोट नगरपालिका–५ कालिगण्डकी चोक बस्ने वर्ष ४३ को टोलाकान्त चापागाईलाई बिहीवार राति ११ः२० बजे प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेयर गर्नुहोस्