खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छः प्रधानमन्त्री

काठमाडौं, पुस २३ गते । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।

मङ्गलबार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाइ दिनुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले महिला फुटबल नेपालमा धेरै पुरानो खेल नभएको बताउनुभयो । उहाँले केही समय पहिलासम्म धेरै मन पराउने खेलमा फुटबल रहे पनि अहिले क्रिकेटले पनि त्यत्तिकै माहोल बनाइरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालले आगामी दिनमा ठुला सफलताहरु प्राप्त गर्दै जानुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘महिला फुटबल नेपालमा धेरै पुरानो खेल होइन । मान्छेले सबैभन्दा धेरै मन पराउने खेल फुटबल थियो । अब विस्तारै क्रिकेट र फुटबलको एक खालको कम्पिटिशन नै छ । फुटबल पनि मानिसहरुले औधि मन पराउने र खेल्ने गर्दछन् । क्रिकेट पनि अत्यन्त मन पराइरहेका छन्, नयाँ पिढीले । यसमा तपाईंहको उन्नति प्रगति हुँदै जाओस् । आगामी दिनमा ठुला ठुला सफलताहरु प्राप्त हुँदै जाउन् ।’’

प्रधानमन्त्री ओलीले खेलमा प्रशिक्षकहरुको प्रशिक्षणको महत्त्व धेरै हुने बताउनुभयो । कमजोरी पत्ता लगाएर सच्याउँदै अघि बढ्नुपर्ने जानकारी दिनुभयो । आफ्ना खेलाडीहरुको खेलको उत्कृष्टता र कमजोरीको पहिचान गरी सुधार गर्दै जानुपर्ने बताउनुभयो ।

सेयर गर्नुहोस्