रविसहितको फैसला मिति नजिकिएसँगै पोखराका निषेधित क्षेत्रमा कडाई

२४ पुस, पोखरा ।

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फबाट बहस चलिरहेका बेला निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अदालत बाहिर सोमबार र मंगलबार भएको गतिविधि र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीको बहस सकिन लाग्दा हुनसक्ने सम्भावित हुलदंगालाई मध्यजनर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

रविको बहस चलिरहँदा सोमबार रास्वपाका नेता कार्यकर्ता र वकिललाई जान दिइएको तर पीडित पक्षबाट जान खोज्नेलाई रोकिएको भन्दै सूयदर्शन सहकारी पीडित अदालत अगाडि बाटोमै लम्पसार परेर विरोध गरेका थिए । उनीहरूलाई प्रहरीले हटाएर कोमागाने पार्क पुर्‍याएको थियो ।

त्यसैगरी मंगलबार केही प्रतिवादीको थुनछेक बहस अझै बाँकी रहेकाले फैसला आउनसक्ने सम्भावना नरहे पनि रविको समर्थकहरूमा फैसला आउनसक्ने हल्ला फिँजिएको थियो । त्यसैले केही समर्थक रविलाई अदालतबाट प्रहरी कार्यालय लैजानुअगाडि नै जम्मा भएका थिए ।

हात हल्लाउँदै निस्कन चाहेका रविलाई छेकेर प्रहरीले कार्यालय लगेपछि केही समर्थकले नारा लगाउँदै हल्ला गरेका थिए । उनीहरूलाई प्रहरीले तितरबितर बनाएको थियो । फैसलाको मिति नजिकिँदै गर्दा यस्तो दृश्य फेरि पनि दोहोरिनसक्ने देखेर सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले बताएको छ ।

निषेधित क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका मन्त्रालयहरू, प्रदेश प्रहरी, प्रशासन प्रदेश प्रमुख, अदालतल, जिल्ला समन्वय समितिलगायत सरकारी कार्यालय छन् । यी कार्यालयमा सेवा लिन जाने नागरिकले पनि अनिवार्य कागजात देखाउनुपर्ने र निषेधित क्षेत्रमा रोकिएर बस्न र २/४ जना जम्मा हुन दिइएको छैन ।

यसअघि पनि प्रशासनले निषेधित क्षेत्र तोकेर सुरक्षा व्यवस्था कडा बनाउँदै सवारी साधन प्रवेशमा रोक नै लगाएको थियो । बिना काम सर्वसाधारणलाईसमेत छिर्न दिइएको थिएन ।

रवि प्रक्राउ परेर पोखरा ल्याएसँगै रास्वपाले गरेको विरोध प्रदर्शनकाबीच उत्पन्न तनावग्रस्त स्थितिका कारण पनि प्रशासनले निषेधित क्षेत्र प्रवेशमा कडाई गरेको थियो ।

रास्वपाले आन्दोलन फिर्ता लिइसकेको र स्थिति सामान्य बनिसकेको अवस्थामा पनि निषेधित क्षेत्रमा कडाइ गरिएपछि रास्वपाले नै प्रशासनको ध्यानाकर्षण गराएको थियो । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा हुने सडक महोत्सवलाई पनि असर पर्ने भन्दै व्यवसायीले समेत ध्यानाकर्षण गराएका थिए ।

सबैको मागलाई मध्यनजर गर्दै प्रशासनले निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था खुकुलो बनाउँदै आउजाउ सहज बनाएको थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविसहित गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल जोशी, लिला पछाईंको तर्फबाट थुनछेक बहस सकिएको छ भने नेचर हब्र्सका सञ्चालक रामबहादुर खनालको तर्फबाट बहस जारी छ ।

गण्डकी प्रदेश सभाको पूर्व सांसदसमेत रहेकी सूर्यदर्शन सहकारीका संस्थापक उपाध्यक्ष मीना गुरुङ, सञ्चालक सदस्य उनकै बाबु कृष्णबहादुर गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङको थुनछेक बहस हुने क्रममै छ ।

भोलि र पर्सीमा बहस सकाएर उच्च सरकारी वकिलको कार्यालयले जवाफी बहस गरेपछि फैसला आउने अदालत स्रोतले जनाएको छ । सूर्यदर्शन सहकारी प्रकरणमा पुस ५ गते थप र ७ गते पुरक अभियोजन गर्दा गर्दै १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी गरिएको छ ।

सेयर गर्नुहोस्