काठमाडौं–
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन समयमै गर्न केन्द्रीय कमिटीका नेताहरू उत्साहित देखिएका छन् । पार्टीको यही पुस २० र २१ गते स्वयम्भूमा बसेको बैठकले समयमै महाधिवेशन गर्ने निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले बताए ।
रास्वपाले गत असोज १ र २ गते पहिलो राष्ट्रिय भेला गरेको थियो । त्यहीबेला पहिलो महाधिवेशन वैशाख तेस्रो साता गर्ने निर्णय भएको हो ।
महाधिवेशनमा जान सबै आतुर
हालै बसेको दुई दिने बैठकमा ५५ जना केन्द्रीय कमिटीका नेताहरू उपस्थित थिए । बैठकमा सबै नेताहरूले समयमै महाधिवेशन गरेर पार्टीलाई नयाँ आकार दिनुपर्ने बताएका थिए ।
‘पहिलो महाधिवेशन सार्नु नहुने सबैको सुझाव आएको छ । महाधिवेशनपछि पार्टी फैलिने र केन्द्रीय नेताहरूको पनि जिम्मेवारी बढ्ने कारण समयमै महाधिवेशन गर्न साथीहरू इछुक हुनुहुन्छ’, झाले भने, ‘महाधिवेशनका लागि वडा, पालिका र जिल्ला भेला गर्न एकजुट हुनुहुन्छ ।’
सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहे पनि रास्वपाले ६२ जिल्ला भेला र सम्मेलन गरिसकेको छ । हिमाली जिल्लाको भेला जाडो सकिएपछि गर्ने तयारी छ ।
उपत्यका लगायत सहरी क्षेत्रमा पालिका र वडा भेला भइरहेका छन् । रास्वपाले हालसम्म एक लाखजनालाई पार्टी सदस्यता दिइसकेको झाले बताए । यस्तै अरु १ लाख हाराहारीले अनलाइन सदस्यता भरेका छन् । तर उनीहरूको भेरिफाई गर्न बाँकी रहेको प्रवक्ता झाले बताए ।
०७९को निर्वाचनमा रास्वपाले देशभरबाट ११ लाख ३० हजार मत ल्याएको थियो । उननिर्वाचनमासहित प्रत्यक्षका ८ सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट ल्याएको थियो । तर, पार्टी सभापति लामिछाने सहकारी प्रकरणमा मुछिँदा रास्वपाको जनमत खस्कँदै गएको आँकलन भइरहेको छ । तर रास्वपा नेताहरू भने यो कुरा मान्न तयार छैनन् ।
रास्वपाले सभापति जेल नै जाने अवस्था आए पनि महाधिवेशन गर्ने योजना बनाएको एकजना सचिवालय सदस्य बताउँछन् । उनले खबरहबलाई भने, ‘सभापति जहाँ भए पनि महाधिवेशनमा जाने सहमति केन्द्रीय कमिटी बैठकमा जुटेको छ । सभापतिलाई जेलै हाल्ने अवस्था आए पनि वैशाखमै महाधिवेशन हुन्छ ।’
कुनै नाटकीय परिवर्तन नभए वैशाखमा महाधिवेशन हुने पक्का जस्तै छ । जसका लागि रास्वपाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाएको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बताए।
‘सबै केन्द्रीय नेता महाधिवेशनमा जान तयार हुनुहुन्छ । जनतामा ऊर्जा र उत्साह ल्याउन पनि पार्टीले महाधिवेशन रोक्दैन, वैशाखमै हामी महाधिवेशनमा जान्छौँ’, उनले भने ।
६० दिने अभियान
समयमै महाधिवेशनमा जान रास्वपाले आगामी माघ २ गतेबाट संगठन विस्तार अभियान चलाउने भएको छ । यस अभियानअन्तर्गत सबै पालिका र जिल्लामा अधिवेशनको रोडम्याप तय गरिने छ । ६० दिने अभियमनमा केन्द्र, प्रदेश र जिल्लाका नेताहरू वडा र पालिका पुगेर जनताका कुरा सुन्ने छन् ।
त्यसक्रममा पार्टी सदस्यता पनि वितरण गर्ने तयारी छ । ‘माघ २ गतेबाट हरेक जिल्ला, पालिका र सकेसम्म सबै घर–घरमा डुल्ने योजना छ । यसले महाधिवेशनलाई सहयोग गर्छ । पार्टीको संगठन फैल्याउन पनि आधार पनि तयार गर्छ,’ प्रवक्ता झाले भने, ‘वडा र पालिकामा सानो संगठन बनाउन थालेका छौँ । हामी संगठन बनाउँदा सरकारी कर्मचारी र शिक्षकलाई राख्दैनौँ ।’
केन्द्रीय कमिटीमा अधिकांश नेताले वडास्तरसम्मै संगठन चाहिएको रिपोर्टिङ गरेकाले अबको ६० दिनमा त्यसतर्फ लाग्ने उनले बताए । यसअगाडि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा लगायतले यस्ता अभियान चलाएका थिए । एमालेले माघदेखि तीन महिना ‘जरासम्मको अभियान’ चलाउँदैछ ।