हेल्लो हेल्थमा आएका गुनासो सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, पुस २५ गते। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ ।

नागरिकबाट प्राप्त गुनासो रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयो।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय मातहत तथा समग्रमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या संकलन तथा समाधान गर्ने उद्देश्यले गत महिना एकाइ गठन गर्ने निर्णय गर्नुभएको थियो।

पैसा नलाग्ने नम्बर १११५ तथा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२ का साथै मन्त्रालयको आधिकारिक फेसबुक र एक्स ह्याण्डलमा गएर सेवा सम्बन्धमा गुनासो तथा जानकारी दुवै लिने प्रबन्ध गरिएको छ ।

एकाइमा गत पुष ९ गतेसम्म प्राप्त विवरण अनुसार सबैभन्दा धेरै गुनासो अस्पताल सेवासँग सम्बन्धित ४१ दर्ता भएका छन्।यसैगरी बीमा सेवा २५, पारिश्रमिकसम्बन्धी १४, प्रशासनिक १५, पारिश्रमिकसँग सम्बन्धित १४ गुनासो दर्ता भएका छन् ।

सुझाव सम्बन्धी ८ तथा अन्य २१ गुनासो दर्ता भएकामा आवश्यकताअनुसार तत्काल तथा प्राथमिकता दिएर सम्बोधन गरिएको एकाइ प्रमुख बास्तोलाले जानकारी दिनुभयो।मन्त्री पौडेलले आम नागरिकको चाहनाअनुसार स्वास्थ्य सेवा सुधार गर्ने क्रममा गुनासो सुन्दै सुनुवाइसमेत गर्ने गरी आवश्यक परे नीतिसम्बन्धी सुधार  गर्नसक्ने उद्देश्यले एकाइ गठन गरिएको बताउनुभएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पैसा नलाग्ने र गुनासो समेत सम्बोधन हुने भएकाले हेल्लो हेल्थमा गुनासो राख्न आग्रह गर्नुभयो।

सेयर गर्नुहोस्