काठमाडौं, माघ १-
मधेश प्रदेशमा जारी जय ट्रफी एलिट कप २०८१ को फाइनल खेल आजदेखि हुँदै छ । तीन दिवसीय फर्म्याटमा हुने उपाधि भिडन्तमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै छ ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा विहान साढे ९ बजेदेखि पहिलो दिनको खेल सुरू हुने तय भएपनि खराब मौसमका कारण ढिला गरी भएको टस आर्मीले जितेको छ । आर्मीका कप्तान विनोद भण्डारीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्।
प्रतियोगिताकै पहिलो दिनको खेल पनि खराब मौसमका कारण ढिला गरी सुरू भएको थियो । यसअघिका सम्पूर्ण लिग खेल दुईदिवसीय भएपनि फाइनल खेल भने तीन दिवसीय हुनेछ ।
आरिफ शेखको कप्तानीमा रहेको पुलिस लिग चरणमा शीर्ष स्थानमा रहेको थियो भने विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी दोस्रो स्थानमा रह्यो । पुलिसले दुई खेल जित्दा एकमा ड्र खेलेको थियो । त्यसैगरी आर्मीले एक खेल जित्दा दुई खेलमा ड्र खेल्यो ।







