चिसो बढेपछि सिरक डस्नाको कारोबार बढ्यो

नेपालगन्ज, माघ ७ गते ।

गत केही दिनयता चलेको शीतलहर र हुस्सुले गर्दा जाडोमा वृद्धि हुँदै गएपछि नेपालगन्जमा न्यानो लुगा, हिटर, कम्बल र सिरक डस्नाको बिक्रि ह्वात्तै बढेको छ ।

चिसो बढेपछि गत एकसाता यता न्यानो लुगा, हिटर, कम्बल र सिरक डस्नाको विक्रि बढेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीका अनुसार नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन, न्यूरोड, सेतु विक चोक, विपी चोक, घरबारी टोल र धम्बोझी चोकमा रहेका न्यानो लुगा, हिटर, कम्बल र सिरक डस्नाका पसलहरुमा ग्राहकको भिड बढेको छ ।

चिसो बढेसँगै ज्याकेट, सुईटर, ट्रयाकसुट, हिटर र कम्बलको माग अत्याधिक बढेको न्युरोडका व्यवसायी सरिफ सिद्दिकीले बताउनुभयो । स्थानीय ग्राहकहरुसँगै सीमापारी भारतका विभिन्न स्थानहरुबाट आउने ग्राहकहरु समेत ठुलो संख्यामा न्यानो लुगाको खरिदका लागि आउने गरेकोले विक्रि बढेको उहाँको भनाइ छ । सोही प्रकारले केही दिन पहिलेसम्म ग्राहक कुरेर बस्नु परेकोमा चिसो बढ्दै जाँदा ग्राहक पनि बढ्दै गएपछि खान खाने समेत फुर्सत नपाएको बिपी चोकका सिरक डस्ना व्यवसायी नुरुल राईले बताउनुभयो ।

उहाँले चिसो बढेसंगै सिरक र डस्ना खरिद गर्नेहरु पनि दिनदिनै बढ्दै गएको हुँदा माग पुरा गर्न भ्याइनभ्याई रहेको बताउनुभयो । विपी चोकस्थित चाँद सिरक ईन्टर प्राईजेजका सञ्चालक राइले तयारी अवस्थामा रहेका सबै सिरक डस्ना विक्रि भैसकेकोले जनशक्ति थपेर सिरक डस्ना तयार गराई रहेको उहाँले बताउनुभयो ।

यसैगरि अहिले केही दिन यता आएर कम्बलको विक्रि पनि अत्याधिक बढेको सुर्खेतरोडका कम्बल व्यवसायी दुर्गेश गुप्ताले बताउनुभयो । उहाँले चिसो बढ्ने वित्तिकै कम्बलको माग अत्याधिक बढेकोले बिक्रि राम्रो भैरहेको बताउनुभयो ।

जाडो बेला पश्चिम नेपालका अधिकांश पहाडी जिल्लाहरुमा समेत अधिकांश न्यानो लुगा तथा सिरक डस्नाहरु नेपालगन्जबाटै जाने भएकोले अहिले यहाँ ती सामग्रीको माग अत्याधिक बढेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी ओलीले चिसोको व्यापार राम्ररी बढेपछि स्थानीय व्यवसायी उत्साहित बनेको बताउनुभयो । उहाँले पश्चिमका विभिन्न जिल्लाहरु नेपालगन्जबाटै सिरक डस्ना लगायत न्यानो लुगाहरु पठाइने गरेकोले पछिल्लो समयमा सो ब्यापार बढेको बताउनुभयो ।

सेयर गर्नुहोस्