७ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।
भेटमा संघीय संसद्को बिजनेसबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । सरकारले संसद् अधिवेशन बोलाउने तयारी गरेका बेला यो भेट भएको हो ।आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकबाट आगामी १८ माघमा संसद् अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी भएको स्रोतले बताएको छ ।
संघीय संसद्को नियमित अधिवेशन १८ माघमा बोलाउनेबारे सरकारले आन्तरिक छलफल गरिसकेको छ । सत्तारुढ दलका नेताहरूका अनुसार अधिवेशन बोलाउने मितिबारे यसअघिको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो ।
संसद्का विपक्षी दलहरूले एक स्वरमा संसद्को अधिवेशन तत्काल बोलाउन माग गर्दै अन्यथा विशेष अधिवेशनको माग गर्ने चेतावनी दिइरहेका बेला सरकारले नियमित अधिवेशन बोलाउने तयारी गरेको हो ।