काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले माघ १९ र २० गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानको समीक्षाका लागि बैठक बोलाइएको पार्टीका महासचिव रामकुमार शर्माले बताए । अभियान सुरु भएको ६ महिना भइसक्यो । भदौदेखि सुरु भएको यो अभियान माघ मसान्तसम्म चल्ने छ ।
बैठकमा ६ महिने अभियानले संगठनमा के कति प्रगति ल्याएको, संगठनका लागि अभियान कति प्रभावकारी रह्यो त्यसको बारेमा समीक्षा हुने बताइएको छ ।बैठकमा दलहरूको बिचमा भइरहेको मोर्चाबन्दीको प्रयासको बारेमा पनि समीक्षा हुने बताउँदै उनले कुन दलसँग कुन मोडालिटीमा मोर्चाबन्दी गर्नेलगायतको विषयमा पनि पार्टीले छलफल गर्ने बताए ।
फागुन मसान्तसम्म पार्टीका हरेक सदस्यले आफ्नो सदस्यता अध्यावधिक गर्ने र वैशाखसम्ममा सबै तहका अधिवेशन सम्पन्न गर्ने गरी पार्टीले सर्कुलर गरेको छ ।चैतसम्म वडा तहदेखि जिल्लासम्मका सबै अधिवेशन सम्पन्न गरिसक्नुपर्ने पार्टीले निर्णय गरेको छ । त्यस्तै वैशाखसम्म भातृ संगठन तथा प्रदेशको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ ।