भरतपुर ।
चितवन जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता फूलमाया रानाभाट निर्वाचित भएकी छन् ।
शनिबार भरतपुरमा सम्पन्न निर्वाचनबाट अध्यक्ष पदका प्रत्याशी अधिवक्ता नुनराज सिलवाललाई जम्मा तीन मतले पछि पार्दै चितवन जिल्ला अदालत बार एसोसिएसनमा उनी पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन् । अधिवक्ता रानाभाट डिएलएको समूहबाट उमेदवार बनेकी थिइन् भने अधिवक्ता सिलवाल पिएलएको समूहबाट उमेदवार बनेका थिए ।
उपाध्यक्ष पदमा ९१ मतसहित सीताराम अधिकारी निर्वाचित हुँदा प्रत्याशी सरिता सापकोटा ६६ मतमा अडिन पुगिन् । सचिवमा ८९ मतसहित कुलचन्द्र खनाल विजयी हुँदा बलराम पौडेलले ७० मतमा चित्त बुझाउन प¥यो । कोषाध्यक्ष पदमा दीपकराज तिमिल्सिना ८१ मतसहित विजयी हुँदा सपी मियाले ७५ मत प्राप्त गरेका छन् । यस्तै, सहसचिव पदमा पवित्रा सुवेदी र महिला सदस्य पदमा प्रियङ्का थापा निर्विरोध भइसकेका थिए ।
अन्य सदस्यहरुमा भने किरण गुरूङ (८४), अजयकुमार तामाङ (८१), राजकुमार प्याकुरेल (८१), शम्भु बर्तौला (७७), सुरेन्द्रराज सुवेदी (७६), केदारराज पन्त ७६ र शेखरनाथ पोखरेल (७५) मतसहित विजयी भएका छन् ।
यस्तै, केन्द्रीय पार्षद्मा मुन्नाविक्रम खाती (९७), राजेन्द्र सिलवाल (९४), श्रीराम दवाडी (८८), रमेश काफ्ले (८४), पूर्णचन्द्र चापागाईं (८२), दिवाकर अर्याल (८२) र गोमा न्यौपाने (८१) मतसहित निर्वाचित भएका छन् । नेतृत्वमा जानका लागि पदाधिकारीहरुमा दुई÷दुई जनाको उमेदवारी परेको थियो । सदस्यहरुमा भने सात जनाको ठाउँमा १४ जनाको उमेदवारी परेको थियो । केन्द्रीय पार्षद्मा पनि सात जनाका लागि १२ जनाको उमेदवारी परेको थियो ।
निर्वाचित समितिमा डिएलएबाट फूलमाया रानाभाटको समूहबाट उपाध्यक्ष सीताराम अधिकारी र सदस्यहरुमा किरण गुरूङ र सुरेन्द्रराज सुवेदी समितिमा आएका छन् । सचिवमा कुलचन्द्र खनाल र कोषाध्यक्षमा दीपकराज तिमिल्सिनासहित सदस्यहरुमा शम्भु बर्तौला, राजकुमार प्याकुरेल, अजयकुमार तामाङ र केदारराज पन्त पिएलएबाट नुनराज सिलवालको प्यानलबाट निर्वाचित भएका हुन् ।
केन्द्रीय पार्षद्मा भने डिएलए प्यानलबाट राजेन्द्र सिलवाल श्रीराम दवाडी, मुन्नाविक्रम खाती, पूर्णचन्द्र चापागाईं, दीवाकर अर्याल र गोमा न्यौपाने निर्वाचित हुँदा पिएलएबाट रमेश काफ्लेमात्रै निर्वाचित भएका छन् ।
चितवन जिल्ला अदालत बार एसोसिएसनले पहिलोपटक महिला अध्यक्ष पाएको छ । त्यो पनि चितवन जिल्लाको कानुन व्यवसायी क्षेत्रमा पहिलो महिला अधिवक्ता फूलमाया रानाभाट । शनिबार सम्पन्न निर्वाचनबाट ५७ वर्षीया रानाभाट निर्वाचित भएकी हुन् । त्यसो त, फूलमाया रानाभाट चितवनको कानुन व्यवसायीहरुमाझ चल्तीको नाम हो । महिला पनि कानुन व्यवसायी बन्न सक्छन् भन्ने उदाहरण बोकेर २०४९ सालदेखि वकालतमा सक्रिय बन्दै आएकी उनी तनहुँको भिरकोटमा विसं २०२४ सालमा जन्मिएकी हुन् ।
बिएल, एमएसम्मको अध्ययन गरेकी रानाभाट २०५१ सालदेखि व्यावसायिकरुपमा यस क्षेत्रमा प्रवेश गरेकी हुन् । २०५१ सालमा चितवनमा एक्लो महिला अधिवक्ताको रुपमा कार्यसमिति सदस्यका लागि चुनावी मैदानमा आएकी उनले त्यतिबेला हार व्यहोर्नु परेको थियो । त्यसयता उनले कोषाध्यक्ष, केन्द्रीय पार्षद्लगायतका पदमा बसेर काम गरेकी थिइन् ।
करिब तीन दशक वकालतको क्षेत्रमा कार्यानुभव सँगालेकी उनले आफूमा अएको दक्षता र अनुभवलाई केन्द्रमा राखेर काम गर्ने योजनासहित नेतृत्व सम्हाल्ने इच्छा व्यक्त गरेको बताइन् । नेतृत्वमा नपुगेसम्म आफ्नो दक्षता देखाउन नसकिने बुझाइका साथ निर्वाचनमा होमिएकी उनी आफूलाई यही पेसाबाट समाज सुधारकको रुपमा पुष्टि गर्न चाहन्छिन् ।
‘समाज सुधार्ने भनेकै कानुनले हो । कानुन नसुध्रिए समाज सुध्रिँदैन । त्यसकारण हामी सामाजिक अभियन्ता पनि हौँ । हामीले सोसल इन्जिनियरको रुपमा काम गर्दा बेन्चमा वकालत गरेर परिवार चलाउनेमात्रै होइन, समाज पनि चलाउने हो भन्ने कुरा समाजलाई बुझाउन जरूरी छ’, उनी भन्छिन् ।