एक वर्षभित्र मन्त्रालयसँग सम्बन्धित सबै कानूनहरु समयानुकल बनाउँछौंः सञ्चारमन्त्री गुरुङ

काठमाडौं-

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयसँग सम्बन्धित सबै ऐन र कानुनहरु एक वर्षभित्र संशोधन गरिसक्ने घोषणा गरेका छन् ।आइतबार काठमाडौंमा ‘एक स्थानीय तह, एक हुलाक’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले पुराना ऐन र कानूनकै कारणले सञ्चार मन्त्रालयले परिणाम देखिने गरि काम गर्न नसकेको बताएका हुन् । उनले हुलाक सेवाको सुधारको लागि नयाँ ऐन र नीति नबनाइकन नहुने उल्लेख गर्दै सरकारले हुलाक नीति ल्याउने गरी काम गरिरहेको बताए ।

पुराना ऐन र कानूहरुको आफू अनूकुल नियमावली ल्याउँदै प्रयोग गरेको कारणले विभिन्न समयमा दुर्घटना हुने गरेको उहाँले बताउनु भयो । सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठूलो फड्को मारिसक्दा पनि हामी र ऐन र कानूनमा अल्झिदा मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको उनको भनाइ छ ।

उनले भने,’नेपालमा लोकतन्त्र आयो । गणतन्त्र आयो । संघीय गणतन्त्रात्मक व्यवस्था आयो । यो भन्दा सुदृढ व्यवस्था अहिलेसम्म संसारमा केही छैन । सबैभन्दा उन्नत खालको गणतन्त्र भनेको संघीय लोकतान्त्रिक गणतन्त्र हो । हाम्रो जस्तो मुलुकको लागि । त्यसकारण हामी यो वर्षभित्र पुराना ऐन, नीति र नियमहरुलाई परिवर्तन गरेर हाम्रो संविधान र हाम्रो व्यवस्थाले जे कुरा भनेको छ त्यो जनता र राष्ट्रको सेवा तथा उन्नति, समृद्धि र सुशासनको लागि काम गर्नुपर्छ ।’

उनले सबै स्थानीय तहहरुमा हुलाक सेवा पुग्नु आफैंमा ठूलो उपलब्धी भएको उल्लेख गर्दै प्रभावकारी ढंगले काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिए ।उनले अबको पाँच वर्षभित्र सबै हुलाक कार्यालयहरुको भौतिक संरचना बनाउने गरी काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले हुलाक कार्यालहरुले राजश्व वृद्धिमा ध्यान दिन उनको आग्रह छ ।

सेयर गर्नुहोस्