विधेयकबारे छलफल होटेलमा राखिएकोप्रति माओवादीको आपत्ति

१४ माघ, काठमाडौं ।

संसदमा विचाराधीन विधेयकबारे होटेलमा छलफल राखिएकोप्रति प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

सभामुख देवराज घिमिरेसँगको भेटमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा विचाराधीन विधेयकबारे होटलमा छलफल राख्न नदिनेप्रति सजग हुन आवश्यक रहेको बताएका हुन् ।

‘सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु–कि समितिका बैठक आफ्नै कार्यकक्षमा गर्नुपर्छ । तर, बाहिर भइराछ’, पाण्डेले भनेका छन्, ‘भर्खरै पूर्वाधार समितिको बैठक बाहिर भयो । यो थाहा पाएपछि हामीले दलका माननीयलाई नजानुस् भन्यौं ।’

यही माघ १० गते पूर्वाधार समितिकै बैठकमा सांसदहरूले जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएको भन्दै आलोचना गरेका थिए ।जलस्रोत विधेयक प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा दफावार छलफलमा छ । दफावार छलफलमा रहेको विधेयकबारे समितिले गत सोमबार बूढानीलकण्ठस्थित ‘होलिडे इन रिर्सोट’मा छलफल राखेको थियो ।

गत सोमबार बिहान साढे ८ बजेदेखि मंगलबार दिउँसो २ बजेसम्म चलेको उक्त छलफललाई लिएर बुधबार पूर्वाधार विकास समितिकै बैठकमा प्रश्न उठेको थियो ।माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले यो विषय उठाउँदै संसदमा विचाराधीन विधेयकबारे होटेलमा छलफल राख्न नहुने बताएका हुन् ।

पाण्डेले सभामुख घिमिरेलाई भनेका छन्, ‘यस्तो कसले रोक्नुपर्छ भन्दा सभापतिहरुले रोक्नुपर्छ । उनीहरुलाई जानकारी दिने काम सचिवालयका कर्मचारीले दिनुपर्छ । यसमा सदनको नेतृत्वको पनि निगरानी आवश्यक छ ।’

सेयर गर्नुहोस्