संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर : प्रमुख सचेतक बर्तौला

काठमाडौं, माघ १५ गते ।

 नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताउनुभएको छ ।

मङ्गलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकले संसद् सञ्चालनको मिति हेरफेर गरिएको जानकारी दिनुभयो ।

प्रमुख सचेतक बर्तौलाले अहिलेको सरकारले संसद्लाई बिजनेस दिने र संसदबाट कानुन निर्माण गर्ने कुरामा तीव्रता दिने बताउनुभयो । संसद्लाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्ने कुरा प्रतिपक्षले राखेको र त्यो स्वाभाविक रहेको औंल्याउनुभयो ।

‘‘संसद्को बैठकका मितिहरु हेरफेर गरिएका छन् । कार्यसूची त लगभग त्यही नै भयो । २४ गते अध्यादेशहरु संसदमा पेश हुनेछन् । २५मा पनि बैठक हुनेछ । २७, २८, २९ गते बैठक हुनेछ ।,’’ उहाँले भन्नुभयो, ‘‘संसद्लाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्छ । पार्ल्यामेण्ट्री कमिटीहरुको बैठकमा कोरम पुर्‍याउने सन्दर्भमा कुरा उठाउनुभयो । संसद् र संसदीय समितिमा सत्तापक्ष महत्त्वपूर्ण हुन्छ । बढी जवाफदेही रुपमा भूमिका निर्वाह गर्नुपर्छ ।’’

सेयर गर्नुहोस्