कमजोर हुँदै पश्चिमी न्यूनचापीय प्रणाली, पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं,फागुन ९-

देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । “काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ । तर, निकै न्यून सम्भावना छ,” मौसमविद् सरोज पुडासैनी भन्छन्, “काठमाडौंमा आज वर्षाको सम्भावना दश प्रतिशत मात्रै छ ।”

बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस रहेको छ । दिउँसो २२ देखि २४ डिग्री सेल्सियससम्म रहेको छ । काठमाडौंका आज दिनभर आंशिक बदली रहनेछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हिजोको तुलनामा आज केही कम रहेको उनले बताए । आज रातिसम्म यसको सामान्य प्रभाव रहने उनको भनाइ छ ।

सेयर गर्नुहोस्