काठमाडौंको डिल्लीबजारस्थित विजयस्मारक माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मका जोसुकै विद्यार्थीलाई चोटपटक लाग्दा वा केही स्वास्थ्य समस्या देखिँदा सबैले सम्झिने एउटै नाम हो– थुङ्गा ।
थुङ्गा श्रेष्ठ विजयस्मारक विद्यालयमा कार्यरत विद्यालय नर्स हुन् । उनी विगत ७ महिनादेखि सो विद्यालयमा काम गर्छिन् । विद्यार्थीका ससाना समस्यादेखि लिएर शारीरिक रूपमा लागेका घाउ चोटपटकमा मलम पट्टि लगाउँछिन्, यदि कसैले जंकफुडहरु ल्याएको छ भने खोसेर राख्छिन्, महिनावारी भएका छात्राहरुलाई सेनेटरी प्याड दिन्छिन् । कोही विद्यार्थी तनावमा छन् भने उनीहरूका समस्या सुनेर परामर्श दिन्छिन् ।
त्यसैले सबै विद्यार्थीले साथीजस्तै सम्झेर आफ्ना सवै कुरा खुलेर उनी सामु राख्न कत्ति पनि हिचकिचाउँदैनन् । आफूले पनि विद्यार्थीहरुको अवस्था हेरेर आवश्यक औषधी या परामर्श दिएर पठाउने गरेको उनले बताइन् । खबरहवसँग कुराकानी गर्दै नर्स श्रेष्ठले भनिन्– ठूलो कक्षाका विद्यार्थीहरू पेट, टाउको दुख्दा या कुनै अन्य समस्याहरू पर्दा आउँछन् । तर सानो कक्षाका बालबालिकाहरू खेल्दाखेल्दै थोरै लड्दा पनि ठूलो स्वरमा रुन्छन् । अनि हेण्डीप्लस लगाएपछि निको भयो भनेर हाँस्दै कक्षामा फर्कन्छन् ।
उनीहरूले आफूमाथि गरेको विश्वास देख्दा आफ्नो कर्मप्रति गर्व लाग्ने उनले बताइन् । अस्पताल तथा यस विद्यालयसँगै अर्को एउटा विद्यालयमा पनि काम गरेको अनुभव सुनाउँदै थुङ्गा भन्छिन्– विद्यालयमा काम गर्दा रमाइलो लाग्छ । अस्पतालमा सिफ्टको ड्युटी हुन्छ । त्यसैमाथि आफूलाई पायक पर्ने समयमा मिल्दैन ।
तर विद्यालयमा बिहान १० देखि ४ बजेसम्मको ड्युटी हुन्छ र जिज्ञासु उमेरका बालबालिका तथा किशोर किशोरीहरुसँग समय बिताउन पाउँदा, उनीहरूका गुनासाहरू सुनेर सम्बोधन गर्न पाउँदा आनन्दको अनुभूति हुने उनी बताउँछिन् ।
त्यस्तै अर्की विद्यालय नर्स हुन् भावना जोशी ओझा । उनी विगत ४ वर्षदेखि जमल स्थित दरबार हाई स्कुलमा कार्यरत छिन् । हरेक विद्यार्थीहरूका मानसिक तथा शारीरिक समस्याको जानकारी राख्ने र समाधान गर्ने गर्दछिन् ।
उनका अनुसार किशोरावस्थामा विपरीत लिङ्गप्रतिको आकर्षणका कारण केटा साथी या केटी साथी बनाउने झगडा पर्दा तनाव लिएर डिप्रेसनमा जानेसम्मका समस्याहरू विद्यार्थीहरूमा देखिने गरेका छन् ।
परामर्शकै माध्यमबाट त्यस्ता समस्याको समाधान गर्ने र यदि आवश्यक परे सम्बन्धित विज्ञसँग पनि सल्लाह लिने गरेको उनले बताइन् । यो उमेरका केटाकेटीहरूमा एक अर्काप्रति आकर्षण हुनु स्वाभाविक भए पनि शारीरिक तथा मानसिक हिसाबले धेरै निकटता राम्रो हुँदैन भन्दै कति जोडीहरूको प्रेम सम्बन्ध छुटाएर सामान्य जीवनमा ल्याएको पनि उनले उदाहरण दिइन् ।
दरबार हाई स्कुल र विजय स्मारक जस्तै यो कार्यक्रम लागु भएका सामुदायिक विद्यालयहरूमा‘एक विद्यालय, एक नर्स’ कार्यक्रम निकै प्रभावकारी भएको पाइएको छ । यस्ता कार्यक्रमले विद्यार्थीहरू निकै लाभान्वित भएकाले हरेक विद्यालयमा यो आवश्यक रहेको सरकोकारवालाहरु बताउँछन् ।
यस कार्यक्रमले विद्यार्थीहरूको शारीरिक तथा मानसिक अवस्थाका साथै पोषणमा पनि निकै सुधार आएको डिल्लीबजार स्थित पद्मकन्या विद्याश्रमकी प्रधानाध्यापक रिता तिवारी बताउँछिन् ।