बेटर चितवनले अन्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी उत्सवका साथ मनाउने भएको छ।विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नारी दिवसको अवसरमा हुन लागेको ‘ वाओ ओमेन फेष्ट २०२५ ‘ को तयारी तिव्र छ।
बेटर चितवनको आयोजना तथा सामरी उत्थान सेवाको सह आयोजनामा हुन लागेको १० औँ संस्करणको नारी उत्सव कार्यक्रमको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
नारी उत्सवमा नाटक मञ्चन, प्यानल छलफल, वाऊ ओमेन अवार्ड सम्मान, नारी उद्यम प्रदर्शनी लगायत विभिन्न कार्यक्रमहरू हुन लागेको उत्सव संयोजक सनीसा आचार्यले बताइन्।उनले बेटर चितवनले हरेक वर्ष मनाउँदै आएको यस नारी उत्सव सबै उमेरसमूहका महिलाहरुको आवाजलाई मुखरित गर्ने र नारी हुनुमा सामूहिक गौरव महसुस गर्ने खुल्ला मञ्च भएको जानकारी दिइन्।
“पहिलेको अवस्था जुन नेपाली महिलाहरुले भोग्नुपरेको थियो ।अब त्यो अवस्थामा महिलाहरु सीमित हुनुहुँदैन।नारी सन्तान जन्माउने माध्यम मात्रै होइन ,समान अवसर,शिक्षा र हौसला दिए नारी स्वावलम्बी र आत्मसम्मानका साथ जीवन जिउन सक्षम छ्न् ।आचार्यले भनिन्।
“अब राज्यको ध्यान संविधानमा व्यवस्था भएअनुसार नारीको अधिकार सुनिश्चित गर्न तर्फ लाग्नुपर्ने हुन्छ।नारीमा यसैगरी ऊर्जा, सशक्तिकरण र जागरण ल्याउनका लागि हरेक वर्ष नारी उत्सव मनाउँदै आएका छौं।”संयोजक आचार्यले जानकारी दिइन्।
आचार्यका अनुसार एक उदाहरणीय सशक्त महिलालाई यस वर्षको वाओ ओमेन अवार्ड प्रदान गरिँदैछ।गत वर्षको वाओ ओमेन अवार्ड माडी नगरपालिका प्रमुख ताराकाजी महत्तोलाई प्रदान गरिएको थियो।
बेटर चितवनको बार्षिक कार्यक्रम अन्तरगत प्रत्यक वर्षको मार्च ८ को अन्तराष्ट्रिय नारी दिवसमा चितवनमा नारी उत्सव हुँदै आएको छ।
उत्सवमा आयोजित प्यानल छलफलमा प्रमुख वक्ताका रूपमा रिता शाह, डा सुवास बस्नेत र विमला देवी गायक सहभागी हुनेछन्, छलफलको सहजीकरण भने चितवनको महिला पत्रकार सिन्धु ढकालले गर्नेछिन्।प्यानल छलफलको विषय ‘सशक्त महिला, समुन्नत समाजस् नयाँ सोच, नयाँ सम्भावना’ मा नेपाली महिलाहरुको विभिन्न पक्ष केन्द्रित बहस हुनेछ।
कार्यक्रममा विशेषगरी चितवन र नवलपुर आसपासका युवा , बालबालिका, उद्यमी महिला , विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
आउँदो शनिबार हुने कार्यक्रम बिहान ११ बजे देखि साँझ ५ बजेसम्म भरतपुरको बोस्टन कलेजको सभाहलमा आयोजना हुनेछ।