डा. संगीता भन्छिन् : ममाथि अन्याय भयो, स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्छ

स्वास्थ्य सचिव बढुवामा नपरेपछि डा. संगीता कौशल मिश्रले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी छिन् ।

बुधबार मन्त्रिपरिषद्को बैठकले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सचिवमा नियुक्ति गरेको छ

लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका पहिलो नम्बरमा डा. संगिता मिश्र र विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।

‘मेरो के दोष थियो ? ममाथि अन्याय भएको छ,’ उनले भनिन्, ‘ सञ्चार माध्यमहरूले पनि मैले गरेको कामको राम्रै मूल्यांकन गर्दै आइरहेका छन् ।’

उनले अगाडि थपिन, ‘काम कति लामो समय गर्नुहुन्छ त्यो महत्त्वपूर्ण होइन । काम गरेपछि के प्रतिफल दिइन्छ त्यो महत्त्वपूर्ण होला नि !’

अहिले सचिवका लागि प्रतिस्पर्धामा उत्रिएका डा. विकास देवकोटा र टंक बाराकोटी भन्दा ११ र १२ औं तहमा बढुवा हुँदा सिनियर भए पनि सरकारले आफूलाई उचित जिम्मेवारी नदिएको उनको आरोप छ ।

‘मैले राज्यलाई आपत पर्दा राम्रो काम गरेकै हो । राज्यको पैसा जोगाउने काम गरेकै छु,’ डा. मिश्रले प्रश्न गरिन्, ‘ स्वास्थ्य मन्त्री पौडेलले मलाई यो के-को पुरस्कार दिनुभयो ?’

‘स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट हटाउनुभयो, काम दिनुभएन, कुनै मिटिङमा बोलाउनु भएन, कुनै समितिमा राख्नुभएन्,’ उनले स्वास्थ्यमन्त्री पौडेललाई आरोप लगाउँदै भनिन्, ‘ उहाँ मधेशी विरोधी नै हुनुहुन्छ ।’

‘म विभिन्न पार्टीका १० जना मन्त्रीसँग काम गर्दा कुनै समस्या भएन । मन्त्री पौडेललाई मसँग समस्या हुने, उहाँले मसँग के अपेक्षा थियो, त्यो पूरा गर्न नसकेर नै यो पुरुस्कार दिनुभएको होला,’ डा. मिश्रले भनिन् ।

डा. मिश्रले जुनियर कर्मचारीको अन्डरमा रहेर काम नगर्न बताइन् । ‘स्वास्थ्यमन्त्री पौडेललको जितले मेरो करियर बर्बाद भयो,’ उनले थप आरोप लगाउँदै भनिन्, ‘उहाँको जिद्दीले एउटा मधेशी महिलाको करियर सकियो ।’

आफूले राजीनामा नदिने बताउँदै उनले स्वास्थ्यमन्त्रीको नैतिकता छ भने राजीनामा दिनुपर्ने बताइन् ।

सेयर गर्नुहोस्