२८ फागुन, काठमाडौं ।
बुधबार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको हो।
अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको आन्दोलनमा रहेको र चैत २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए।
धर्ना कार्यक्रम स्थलमा उपस्थिति भएका एमाले महासचिव शङ्खर पोखरेलले शिक्षा ऐन सम्सोधन गरेर शिक्षकका मागलाई यहि हिउँदे अधिवेशनमा समाधान गरिने जिकीर गरेका थिए । पोखरले सरकार र आफुहरु यस विषयमा शिक्षकहरु भन्दा धेरै चिन्तित भएको कुरा वताए । उनले आफुहरु नै अब शिक्षकको समस्या समाधान गर्ने भएकोले शिक्षकहरुले अब आन्दोलन गर्नुभन्दा आफ्नो विद्यालयको शैक्षिक गतिविधी थप सुधार्न सुझाव दिए ।
धर्ना कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए ।
उनले निर्णायक चरणको आन्दोलन जनआन्दोलन भन्दा पनि ठूलो हुने चेतावनी दिँदै त्यसलाई बुझेर संसदको समिति, सरकारलाई चाँडोभन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गरे। उनले भने, ‘हामी दोस्रो दिनको धर्नाअन्तर्गत नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयमा धर्नामा छौँ।
यही दलबाट प्रधानमन्त्री पनि हुनुहुन्छ। अब नेपाली शिक्षक, कर्मचारीहरूले यो अन्तिम चरणको आन्दोलनको रूपमा अघि बढाइरहेका छौँ। यसपछि रिले अनसनमा जान्छौँ। चैत २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन हुन्छ, देशभरका सबै शिक्षक कर्मचारी काठमाडौंमा आएर जनआन्दोलन भन्दा ठूलो आन्दोलन शिक्षक, कर्मचारीले गर्दैछौँ। त्यसलाई बुझेर संसदको समिति, सरकारलाई चाँडोभन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दछौँ। कि जितिन्छ, कि बितिन्छ त्यो मानसिकताबाट हामी आन्दोलनमा छौँ।’ उनीहरूले शिक्षा अँध्यारो जीवनलाई उज्यालोतर्फ डोर्याउने माध्यम भएकाले सामान्य रूपमा नलिन आग्रह गरे। देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरूदण्ड भएको जिकिर गरे।