नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्दै आएको बिजुली आजबाट सोलार समय अर्थात् १२ घण्टा मात्रै आपूर्ति हुने भएको छ । विद्युत् आपूर्ति नियमित गरेर लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट बिजुली किन्ने गरेको छ।
भारतबाट आउने बिजुली कटौतीमा परेपछि लामो समयपछि नेपालमा फेरि लोडसेडिङ हुनसक्ने समेत चर्चा छ । तर, भारतबाट आपूर्ति हुने बिजुलीको समयमा कटौती हुँदा पनि लोडसेडिङ भने नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अहिले भारतबाट दैनिक ६ सय मेगावाटभन्दा बढी बिजुली आयात गर्दै आएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भारतबाट आपूर्ति हुने बिजुली गत वर्षको यही समयमा पनि अहिले जस्तै आइरहेको भन्दै आपूर्ति समय कटौती भए पनि समस्या हुन नदिने बताए ।
‘हामीसँग वैकल्पिक धेरै व्यवस्था छन्, आरओआर र कुलेखानी छ, ती आयोजनाबाट ४ सय मेगावाट थपिन्छ’, प्रवक्ता घोषले भने । उनकाअनुसार प्राधिकरणले ठूला उद्योगलाई पिक आओरको समयमा बिजुली आपूर्ति नगर्ने समझदारी गरेको छ । त्यसअनुसार तराई क्षेत्रका प्रसारण लाइन व्यवस्थित नभएका केही उद्योग प्रभावित हुने बताइएको छ ।