एसईईको प्रवेशपत्र लिन भन्दै काठमाडौं कालिमाटीस्थित डेराबाट मंगलबार बिहान हिँडेका २ किशोरी वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलमा फेला परेका छन् । १७ र १८ वर्षीया सुनिता र राधा (नाम परिवर्तन) लाई वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलबाट मंगलबार साँझ ७ बजे भारतीय सुरक्षा फौज एसएसबीका जवानले फेला पारेका थिए ।
भारतीय किशोरसँग प्रेम सम्बन्ध रहेको र आफूहरू भारत जान लागेको बताएपछि उनीहरूलाई भारतीय सुरक्षाकर्मीले रोकेका थिए । रौतहट र सप्तरीका ती किशोरी लामो समयदेखि काठमाडौंमा सपरिवार डेरा गरी बस्दै आएका छन् । बिहीबारदेखि एसईई सुरु हुँदैछ । एक किशोरीको साथबाट प्रवेशपत्र पनि फेला परेको छ ।
भाषागत समस्या भएपछि एसएसबीका अधिकारीले माइती नेपाल वीरगन्ज आवधिक गृहमा सम्पर्क गरेका थिए । माइती नेपालकी वीरगन्ज प्रमुख गोमा पौडेलसहितको टोली मितेरी पुलमा पुगेर दुवै किशोरीलाई उद्धार गरेको थियो ।
भारत बिहार वैशाली जिल्ला घर बताउने युवकहरू १८/१८ वर्षीय ‘ए’ र ‘बी’ लाई वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ । दुवै किशोरी र युवकले आफूहरू एक अर्कासँग प्रेम सम्बन्धमा रहेको र आफूहरू भारत गई विवाह गर्ने योजना बनाएर नेपाल छोड्न लागेको बताएका छन् । ‘ए’ लामो समय काठमाडौंमा बसेको र उनको बुवा घर बनाउने मिस्त्रीको काम गर्ने गरेका छन् । उनको डेरा नजिक बस्ने राधासँग प्रेम सम्बन्ध बसेको थियो । ‘ए’मार्फत भारतमै उनका निकटका साथी ‘बी’ र राधाकी निकटकी साथी सुनिताबीच मोबाइल सम्पर्क भई ‘बी’ र सुनिताबीच पनि प्रेम सम्बन्ध बसेको थियो । दुवै किशोरीलाई नेपालबाट भगाएर भारत लग्न जितु पनि ४ दिन अघि काठमाडौं पुगेका थिए ।
‘ए’ र ‘बी’ सोमबार नै भारत घर फर्कन भनी काठमाडौंस्थित आयुषको डेराबाट निस्केर काठमाडौंकै एक लजमा बास बसेका थिए । मंगलबार चारै जना भेटेर भारत जानका लागि काठमाडौंबाट वीरगन्ज हिँडेका थिए ।
सीमामा मानव बेचबिखनविरुद्ध कार्यरत संस्थारको निगरानी नहुने बेला पारेर उनीहरू भारततर्फ जान लागेको अवस्थामा भारतीय सुरक्षाकर्मीको नजरमा परेका थिए । किशोरीहरूको अभिभावकसँग सम्पर्क प्रयास भइरहेको माइती नेपाल वीरगन्ज आवधिक गृह प्रमुख पौडेलले बताइन् ।