सीप सिकेर संरक्षणमा फर्किए सय युवा

चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछ्यौलीका प्रकाश चौधरी पर्यटकसँग निकुञ्ज प्रवेश गर्न थालेको नौ वर्ष हुन थाल्यो। ‘नेचर गाइड’ को सहयोगीका रूपमा प्रवेश गरे पनि उनीसँग पर्यटक घुमाउन अनुमति पत्र थिएन। दुई सातायता भने चौधरीले सहयोगीको भूमिका निर्वाह गर्नुपरेको छैन। उनले हिजोआज नेचर गाइडकै भूमिकामा पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज घुमाइरहेका छन्।

‘सन् २०१६ देखि पर्यटकसँग निकुञ्ज प्रवेश गर्न थालेको हुँ, तर निकुञ्जमा पर्यटक घुमाउनका लागि नेचर गाइडको अनुमति पत्र थिएन’, सौराहाको एक होटलमा काम गरिरहेका चौधरीले भने, ‘अहिले लाइसेन्स पाएपछि दैनिक रूपमा पर्यटक घुमाउन निकुञ्ज गइरहेको छु।’ उनले पर्यटक घुमाएर मासिक ३० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन्।

विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० नेपालको सहयोगमा तराई भूपरिधि ९ताल० परियोजनाले चितवनको माडीमा सञ्चालन गरेको एक्काइसदिने तालिम लिएपछि नेचर गाइडको लाइसेन्स लिन चौधरी सफल भएका हुन्।

लाइसेन्स प्राप्त गरेपछि आफ्नो तलबसमेत बढ्नेमा उनी ढुक्क छन्। प्रकृतिमा रमाउन चाहने चौधरीले रोजगारीसँगै वातावरण संरक्षणका लागि काम गर्न पाउँदा खुसीसमेत छन्। उनी चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती सामुदायिक वन आसपासमा बस्ने नागरिकलाई समेत वन र वन्यजन्तुको महत्वका विषयमा बुझाउने गर्दछन्। ‘सौराहामा एकसिंगे गैंडा र मृग बेलाबेला बालीनाली खान आउँदा हामीले जनावर यहाँ आएका होइनन्, हामी उनीहरूका ठाउँमा आएका हौं भनेर किसानलाई सम्झाउने गर्दछु’, उनले भने।

कावासोती नगरपालिकाका वडा नं १० की २३ वर्षीया राधाकुमारी महतो घाँस–दाउरा गर्न जंगल पस्ने गर्दथिन्। हिजोआज भने महतो घाँस–दाउरा गर्न नभई पर्यटक घुमाउन जंगल जान थालेकी छन्। वन्यजन्तुले बालीनाली नष्ट गरे पनि पर्यटक घुमाएर आम्दानी गर्ने सोच बनाएको उनले बताइन्।

‘नेचर गाइडको लाइसेन्स लिएको एक साता भयो। यो अवधिमा एकदुईपटक होमस्टे आएका पर्यटकलाई निकुञ्ज घुमाउन लगेकी छु’, उनले भनिन्, ‘अब नेचर गाइड पेसामा लाग्छु।’ उनले वन्यजन्तुको अवस्था बुझ्न नेचर गाइड तालिम लिएको समेत बताइन्। गैंडा, मृग, बाँदरलगायतले बालीनाली नष्ट गरिदिने भए पनि यसलाई पर्यटनमार्फत आम्दानी गर्ने सोच उनको छ।

भरतपुर महानगरपालिका वडा नं २७ स्थित मेघौलीका मनोज भट्टराईले आइटीमा स्नातक सकेका छन्। उनले दुबईमा बसेर आइफोन कम्पनीमा काम गरे। आम्दानी राम्रै भए पनि त्यसबाट उनी सन्तुष्ट हुन सकेनन्। प्रकृतिप्रेमीसमेत रहेका २८ वर्षीय भट्टराई स्वदेश फर्किएर नेचर गाइड बनेर निस्किए। ‘मैले दुबईमा आइफोन कम्पनीमा काम गरें। चाइनाबाट पनि अफर आएको थियो। त्यसरी काम गर्दा म स्वतन्त्र भइनँ’, उनले भने, ‘विदेशभन्दा स्वदेशमा केही गर्छु भनेर ‘होमस्टे’ सञ्चालन गरेको छु। विदेशी पर्यटकलाई निकुञ्ज घुमाउन पाउँदा सन्तुष्ट छु।’

मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत समुदायमा आधारित वन्यजन्तु अपराध नियन्त्रण युवा सशक्तीकरण अभियान (सिबिएपियु) अन्तर्गत तराई भू–परिधिले मध्यवर्ती क्षेत्रमा खटिएका युवालाई दिगो रोजगारी सृजना गर्ने उद्देश्यले तालिम प्रदान गरिरहेको छ। यही परियोजनाअन्तर्गत कावासोती वडा नं १३ गैरीकी अमृता गुरुङले कफी बनाउने तालिम लिएकी छन्।

चितवनको कान्तिपुर बहुप्राविधिक शिक्षालयमा सञ्चालन भएको दुईमहिने ‘कफी वारिस्ता’ को तालिम लिएकी गुरुङको आफैं कफी सप खोल्ने लक्ष्य छ। ‘केटीहरूलाई घरकाले बाहिर जान दिँदैनन्। अहिले वारिस्ताको सर्टिफिकेट प्राप्त गरेकी छु’, उनले भनिन्, ‘भविष्यमा लोकेसन हेरेर क्याफे खोल्ने विचार छ।’

परियोजनाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत गठन गरिएका सिबिएपियुका स्वयंसेवीलाई स्वरोजगार बनाउन युवालाई वारिस्ता, नेचर गाइड, ब्युटिसियन, एसी बनाउनेलगायतका तालिम प्रदान गरेको छ। यतिखेर वारिस्ता र नेचर गाइडमा गरी सयजना युवाले तालिम लिइसकेको तराई भू–परिधि परियोजनाका कार्यक्रम एसोसिएट निशान केसीले जानकारी दिए। उनका अनुसार ७७ जनाले सिटिभिटीको वारिस्ता कोर्स र २३ जनाले नेचर गाइडको तालिम लिएका छन्।

नेचर गाइडमध्ये १३ जनाले लाइसेन्ससमेत पाएको उनले बताए। तालिममा पर्साको मनहरी मध्यवर्ती उपभोक्ता समुह, मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन, लामीचौर मध्यवर्ती उपभोक्ता समुह, मेघौली मध्यवर्ती उपभोक्ता समुह र माडीको पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समुहका युवा आबद्ध रहेका थिए।

चोरी–सिकारी नियन्त्रण जागरण अभियानमा जोड्नका लागि युवालाई सीप प्रदान गरिएको तराई भू–परिधि परियोजनाका पूर्व क्लस्टरका इन्चार्ज प्रेम पौडेलले बताए। ‘संरक्षणमा लागेका युवालाई जीविकोपार्जनसँग जोड्न सकियो भने वातावरणको दिगो संरक्षण हुन सक्छ’, पौडेलले भने, ‘सयजना युवालाई तालिम प्रदान गरेर दीक्षान्तसमेत गरेका छौं।’

उनीहरूमध्ये केहीले रोजगारीसमेत पाइसकेको उनले बताए। ‘लाइसेन्स पाएका अधिकांश नेचरगाइडहरू बुकिङ भइसक्नु भएको छ। वारिस्ता तालिम लिएका युवाहरूलाई पनि होटल व्यवसायीले राख्ने कुरा भइरहेको छ’, उनले भने।

तालिम सञ्चालन गर्न परियोजनाले एक करोड १२ लाख रूपैयाँ खर्चिएको छ। एक व्यक्ति बराबर २५ हजार रूपैयाँका टुल्स प्रदान गरिएको उनले बताए। डब्लुडब्लुएफका नेपाल प्रमुख घनश्याम गुरुङले सीपको नतिजा देखिने गरी काम गर्न सुझाव दिएका छन्। ‘यहाँ सिकेको सीप विदेश गए पनि काम लाग्छ’, उनले भने, ‘प्रकृतिलाई संरक्षण गर्दै दिगो जीविकोपार्जनमा लाग्नुपर्दछ। उनले प्रकृति जनावरलाई मात्र नभई मानिसलाई चाहिएको समेत बताए। ‘प्रकृतिलाई बचाउन पर्दैन। त्योभन्दा पहिले हामी बाँच्दैनौं’, उनले भने, ‘आफू बाँच्नका लागि प्रकृतिलाई संरक्षण गर्ने हो।’

चितवन राष्ट्रिय निकुञ्जका पूर्व कार्यालय प्रमुख रामप्रितम यादवले स्थानीय जनता लागेमा चोरीसिकारी नियन्त्रण सम्भव हुने बताए। ‘हामीले जैविक विविधता संरक्षण गर्नुपर्दछ’, उनले भने ‘यसका लागि युवाहरू नयाँ जोस र जाँगरले लाग्न आवश्यक छ।’

उनले नेपाल जैविक विविधताले धनी रहेको बताउँदै भविष्यका सन्ततिका लागि संरक्षणमा लाग्नुपर्ने बताए। ठुलो संघर्षले निकुञ्ज स्थापना गरिएको बताउँदै उनले वन्यजन्तुलाई माया गर्नुपर्ने बताए।

चितवन राष्ट्रिय मध्यवर्ती सामुदायिक उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुंगानाले युवालाई संरक्षणमा जोड्नका लागि सिबिएपियु गठन गरिएको बताए। रोजगारीको दिगो व्यवस्थापन नभएको अवस्थामा संरक्षण गर्न कठिन हुने बताउँदै ढुंगानाले युवालाई संरक्षणसँग जोड्न विभिन्न तालिम आयोजना गरिएको बताए।

सेयर गर्नुहोस्