चितवनको भरतपुरमा जारी बीसीए अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चितवन मावि र न्यू क्यापिटल कलेज सेमीफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो क्वाटरफाइनलमा चितवन माविले नारायणी इङलिस पब्लिक स्कुललाई ७ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको हो । नारायणी इङलिस पब्लिक स्कुलले दिएको ४७ रनको झिनो लक्ष्य चितवन माविले ५ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । चितवन माविका उमा शंकर यादवले १२ बलमा २२ रन बनाए भने सन्देश महतो ५ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको नारायणी इङलिस पब्लिक स्कुल १०.५ ओभरमा ४६ रनमै अलआउट भयो । रोहन पटेलले १३ र राज महतोले १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । नारायणीको पारी धरासायी बनाउन चितवन माविका वेद प्रकाश साह १५ रन खर्चिदै ५ विकेट लिए । उमाशंकर यादव र राजीव यादवले २–२ विकेट लिए । पवन महतोले एक विकेट लिए ।
यस्तै शुक्रबार नै भएको दोस्रो क्वाटरफाइनलमा उपाधि दावेदार न्यू क्यापिटल कलेजले दिवाकर स्मृति मावि माडीलाई डिएल आधारमा १२ रनले विजयी भयो । दिवाकर स्मृति मावि वर्षा हुनुअघि ७ ओभरमा ४० रन बनाउँदै ५ विकेट गुमाएपछि डिएल आधारमा १२ रनले पछि पर्यो र न्यू क्यापिटल सेमीफाइनलमा स्थान पक्का गर्यो । दिवाकरका लागि अम्जाद जमालले विष्फोटक पारी खेल्दै २८ रन बनाए । अन्य क्याटरले दोहोरो अंक छुन सकेनन् । न्यू क्यापिटलका राज प्रताप क्षेत्रीले २ ओभरमा २ रन खर्चिदै ४ विकेट लिए ।
यअसघ पहिले ब्याटिङ गरेको न्यू क्यापिटलले निर्धारित १६ ओभरमा ४ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । उसका लागि शिरिष रखालले ३८, दर्शिल शर्माले २७ रनको योगदान दिए । दिवाकर स्मृति माविका प्रदीप अधिकारीले २, अम्जाद जमाल र रोजन पौडेलले एक–एक विकेट लिए ।
प्रतियोगिता अन्तरगत अन्तिम क्वाटरफाइनल खेलहरु शनिबार हुँदैछन् । भोलिको पहिलो खेलमा होली भिजन पब्लिक स्कुल र अर्बिट स्कुलबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा लक्ष्मी मावि र आयोजक भरतपुर क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।