अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा

यहाँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त ७८ जनाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो ।

स्थानीय अपाङ्गता समन्वय समितिको गत भदौ १९ को बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षको अपाङ्गता लक्षित कार्यक्रमअन्तर्गत उनीहरुको बिमा गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यसहित स्वास्थ्य बिमा कार्यक्रम अगाडी बढाउन लागिएको अधिकारीको भनाइ छ ।

गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य बिमा अभिकर्तालाई सूचना जारी गरी सम्बन्धित वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा प्रक्रिया अगाडी बढाउन अनुरोध गरिसकेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले जानकारी दिनुभयो ।

स्वास्थ्य बिमा कार्यालय तनहुँमा पालिकाबाट रकम भुक्तानी गर्ने क्रममा सम्बन्धित अपाङ्गता परिचयपत्र, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र असोज मसान्तभित्र उपलब्ध गराउन सूचित गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ‘घ’ वर्गका अपाङ्गता भएका १७, ‘ग’ वर्गका अपाङ्गता भएका ५७ र वर्ग पहिचान नभएका चार जनाको स्वास्थ्य बिमा गरिनेछ । जसअनुसार घिरिङ गाउँपालिका–१ का १७ जना, घिरिङ गाउँपालिका–२ का १४ जना, घिरिङ गाउँपालिका–३ का २० जना, घिरिङ गाउँपालिका–४ का १५, घिरिङ गाउँपालिका–५ का १२ जना रहेका छन् । रासस

सेयर गर्नुहोस्