नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेल शनिबार खेलिँदैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा नेपाली समय अनुसार, राति २०ः१५ बजे शुरू हुनेछ ।
नेपालले कुनै पनि टेस्ट राष्ट्रविरुद्ध द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो पटक हो । नेपाली टोली पछिल्लो समय महत्वपूर्ण प्रतियोगिताको तयारीमा छ । त्यसैले आफूभन्दा निकै बलियो टोली वेस्ट इन्डिजविरुद्धको यो शृंखला नेपालका लागि निकै महत्त्वपूर्ण सावित हुनेछ ।
तेस्रोपटक टी–२० पुरुष विश्वकप खेल्ने अभियानमा रहेकाले पनि नेपाली टोलीका लागि यो शृंखला अझ विशेष छ । दुईपटक टी–२० विश्वकप र दुईपटक एकदिवसीय विश्वकपको जितिसकेको वेस्ट इन्डिजसँगको यो शृंखलाले नेपालको विश्वकप छनोट अभियानमा थप सहयोग पुर्याउने छ । नेपाली टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता केही समयपछि नै खेल्दैछ । नेपाली टोली लामो समयदेखि सोही छनोट प्रतियोगिताको तयारीमा व्यस्त छ ।
एसिया तथा प्यासेफिक क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । छनोट प्रतियोगितामा नौवटा टोलीको सहभागिता रहेको छ । छनोट प्रतियोगितामा नेपाली टोली जापान र कुवेतसँगै समूह ‘बी’ मा परेको छ । अन्तिम चरणको विश्वकप छनोट प्रतियोगितामा मलेसिया, कतार, यूएई, ओमान, पपुवा न्यू गिनी र सामोआको पनि सहभागिता रहने छ । यो छनोट प्रतियोगिताबाट तीनवटा टोलीले आगामी टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
त्यसैले विश्वकप छनोट प्रतियोगितामा निखारिएको प्रदर्शन गर्न नेपाली टोलीले आफूभन्दा बलियो प्रतिद्वन्द्वीसँग अभ्यास खेल खेल्नु आवश्यक थियो । वेस्ट इन्डिजविरुद्धको शृंखला नेपाली टोलीका लागि त्यही महत्त्वपूर्ण अवसर पनि हो । शृंखलाको दोस्रो खेल असोज १३ र तेस्रो खेल १४ गते खेलिने छ ।