गण्डकीका मुख्यमन्त्री पाण्डे निवासमा फेरि आगजनी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा गएराति फेरि आगजनी भएको छ। गएराति साढे २ बजेतिर अज्ञात व्यक्तिहरूको समूहले निवासमा प्रवेश गरेर आगो लगाएको हो ।

आगजनीबाट घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उक्त घरमा आगजनी भएको थियो । पूर्णरुपमा जल्न नपाएको उक्त घरमा गएराति अर्को समूह प्रवेश गरी आगजनी गरेको कास्कीका प्रहरी प्रमुख (एसपी) नवीन कार्कीले जानकारी दिए । अघिल्लो आगजनीमा बाँकी रहेको एउटा कोठामा आगजनी गरेको र केही लागु पदार्थसमेत फेला परेकाले सोही अनुसार अनुसन्धान भइरहेको कार्कीको भनाइ छ ।

मुख्यमन्त्री पाण्डे भने अहिले प्रमुख सचिवको निवासमा बस्दै आएका छन् । आगजनी भएको सरकारी निवासमा भने ताल्चा लगाइएको थियो ।

सेयर गर्नुहोस्