राससले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय समाचार समिति (रासस)ले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन तथा निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले राससमा कार्यरत पत्रकार र कर्मचारी जुनसुकै विचार र आस्थामा आबद्ध भए पनि संस्थाको बृहत्तर हितका पक्षमा एक हुनुपर्ने बताउनुभयो । “राससमा कार्यरत साथीहरु साँच्चिकै पत्रकार बनेर आफ्नो व्यक्तित्व निर्माणमा लागेमा त्यसले देश र जनतालाई फाइदा पुग्नेछ”, उहाँले भन्नुभयो, “अहिलेको सरकारको कार्यादेश बुझ्नुभएकै छ । सोहीअनुसार व्यवसायिक, निष्पक्ष र सन्तुलित भइ काम गर्नुस् ।”

रासस एक इतिहास बोकेको गौरव गर्न लायक संस्था भएको स्मरण गर्दै मन्त्री खरेलले राससको विनियमावली संशोधनलाई विभागीय मन्त्रीका हैसियतले छिट्टै टुङ्गोमा पु¥याउन आफू तत्पर रहेको बताउनुभयो । उहाँले राससको भौतिक सम्पत्तिको उपयोग, अडियो–भिडियो सेवाको दिगोपना आदिका विषयमा क्रमशः छलफल गरिने विश्वास दिलाउनुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस विनियमावली लामो समयदेखि मन्त्रालयमा विचाराधीन हुँदा कर्मचारीको वृत्तिविकाससँग सम्बन्धित काम प्रभावित भएको बताउँदै यथाशक्य छिटो विनियमावली स्वीकृतिका लागि आग्रह गर्नुभयो । उहाँले नेपाल भाषा, मैथिली र अवधि भाषामा समाचार सेवा प्रवाह भइरहेको जानकारी दिँदै अन्य मातृभाषामा पनि समाचार सेवा सञ्चालनका लागि बजेट व्यवस्था भए रासस तयार रहेको बताउनुभयो । उहाँले व्यावसायिक हिसाबले महत्त्वपूर्ण स्थानका राससको भौतिक सम्पत्तिको सदुपयोग गरी संस्थालाई आत्मनिर्भर बनाउन सकिने भएकाले त्यसमा सरकारको सहयोगको आवश्यकता औँल्याउनुभयो । रासस उपदान कोषसहित समग्र बजेट वृद्धिको व्यवस्था गरिदिन पनि कार्यकारी अध्यक्ष झालेले आग्रह गर्नुभयो ।

राससका महाप्रबन्धक सन्दीप राईले राससलाई समयसापेक्ष ‘डिजिटलाइज्ड’ गरी देशको एजेण्डा बोक्ने समाचार संस्थाका रुपमा स्थापित गर्न व्यवस्थापन पक्ष अघि बढिरहेको बताउनुभयो । केन्द्रीय कार्यालयबाट मात्र समाचार सेवा प्रवाह भइरहेको अवस्थामा प्रदेशगत रुपमा पनि ‘बुलेटिन’ प्रकाशन गर्नुपर्ने देखिएकाले त्यसमा सरकारका तर्फबाट सहयोगको अपेक्षा गर्नुभयो । उहाँले रासस विनियमावली संशोधन प्रक्रियालाई अन्तिम रुप दिन र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० गर्न मन्त्रालयको नेतृत्वदायी भूमिका हुने भएकाले सहजीकरण गरिदिन मन्त्रालयसँग अनुरोध गर्नुभयो ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिव कोषहरि निरौलालगायत उपस्थित हुनुहुन्थ्यो । रासस

सेयर गर्नुहोस्