अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार, इजिप्ट र टर्कीका नेतासँग गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर गर्दै मध्यपूर्वमा दीर्घकालीन शान्तिको प्रतिवद्धता जनाउनुभएको छ । यो सम्झौताअन्तर्गत हमासले गाजामा रहेका बाँकी २० जना जीवित इजरायली बन्धकहरूलाई मुक्त गरेको छ र थप चार जनाको शव हस्तान्तरण गरेको छ ।

यही क्रममा इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी तथा बन्दीहरूलाई रिहा गरेको छ, जसमा एक सय ५४ जनालाई इजिप्ट निर्वासन गरिएको खबरमा उल्लेख छ । गाजाको दक्षिणी क्षेत्र खान युनिसमा रिहा भएका प्यालेस्टिनीहरू परिवारसँग पुनर्मिलन हुँदा खुशी देखिएका छन् ।

सन् २०२३ अक्टोबरदेखि शुरू भएको इजरायलको गाजामाथिको युद्धमा अहिलेसम्म झन्डै ६७ हजार आठ सय ६९ जनाको ज्यान गएको छ र एक लाख ७० हजार एक सय पाँच जना घाइते भएका छन् । २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा एक हजार एक सय ३९ जनाको ज्यान गएको थियो भने दुई सय जनालाई अपहरण गरिएको थियो ।

सेयर गर्नुहोस्