मोन्थाका कारण भारतमा रेड अलर्ट जारी

भारतको मौसम विभागले बङ्गालको खाडीमा उठिरहेको समुद्री आँधी ‘मोन्था’सँग सम्बन्धित रेड अलर्ट जारी गरेको छ । विभागले मंगलबार आँधी गम्भीर बन्न सक्ने बताएको छ ।

‘मोन्था हाल पश्चिम–मध्य बङ्गालको खाडीमाथि, गोपालपुरबाट लगभग ५५० किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ’ भुवनेश्वरस्थित मौसम विभागका निर्देशक डा। मनोरमा मोहन्तीले समाचार एजेन्सी एएनआईलाई बताइन् । आँधी उत्तरपश्चिमतिर सर्दै गइरहेको र मंगलबार गम्भीर चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको उनले बताइन् ।

‘यो उत्तरपश्चिमतिर सर्दै जानेछ र आज साँझ वा राति आन्ध्र प्रदेशको तटमा रहेको मछलीपट्टनम र कलिंगपट्टनमको बीचमा रहेको काकीनाडा नजिकै ९०–१०० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने सम्भावना छ’ उनले बताइन् ।

ओडिशाका गंजम, गजपति, रायगडा, कोरापुट, मलकानगिरी, नबरंगपुर र कालाहांडी जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको बताइएको छ । यी क्षेत्रमा तेज हावासँगै भारी वर्षा हुने अनुमान गरिएको छ । बिना कारण घरबाट बाहिर ननिस्कन मोहन्तीले सर्वसाधारणलाई अनुरोध गरेकी छिन् । एजेन्सी

सेयर गर्नुहोस्