नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले हतारमा पार्टी एकता नगर्न आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले हतार गरेर न समग्र एकता न सार्थक पुनःगठनको स्थिति नबनोस् भन्नेमा सचेत हुनुपर्ने धारणा राखेका हुन्।
‘नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक–सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनःगठन आजको आवश्यकता हो र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो। तर एकीकरण प्रक्रियालाई समग्र कम्युनिष्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनःगठन सहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ,’ उनले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पार्टी एकता प्रक्रियालाई पनि यही कोणबाट हेरिनु पर्छ।’
पार्टीले एकीकृत समाजवादीसँग पार्टी एकता गर्न पहल गर्ने निर्णय गरेको उनले बताएका छन्। तर यो एकता प्रक्रियाले समग्र कम्युनिष्ट आन्दोलनको रूपान्तरण एवं पुनःगठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नुपर्ने उनले बताएका छन्। ‘सम्बन्धित पार्टीहरू विभाजित भएर होइन, समष्टि रूपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ। त्यस निम्ति धैर्यपूर्वक प्रयत्न गरौं। हतार गरेर न समग्र एकता न सार्थक पुनःगठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔं,’ उनले भने।







