बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति

मङ्गलबार बिहानदेखि परेको अविरल वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्‍याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् ।

गोरखा नगरपालिका-१० सिर्दीफाँट यतिबेला जलमय बनेको किसान तुलबहादुर थापाले बताउनुभयो । “तिहार लगत्तै धान काटेर भित्र्याउन ठिक्क पारेको बेला पानी पर्‍यो । गाउँका एक–दुई जना बाहेक सबैले धान काटेर खेतमा सुकाएका छन्”, उहाँले भन्नुभयो, “धान भित्र्याउने तयारी भइरहँदा पानी परेर क्षति भयो । अहिले काटेर सुकाएको धान खेतमा डुबेको छ । नकाटेकाहरूको पनि पानीले बाला झारेको छ ।” बेमौसमी वर्षात्का कारण वर्षभरिको मेहनत खेर जाने चिन्ता बढेको उहाँको भनाइ छ ।

बेमौसमी वर्षाले जिल्लाको धानबालीमा क्षति पुर्‍याएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो । उहाँका अनुसार यतिबेला जिल्लाका १० प्रतिशत किसानले धान भित्र्याइसकेका छन् भने करिब ४० प्रतिशतले धान काटिसकेका र ५० प्रतिशत किसान काट्ने तयारीमा छन् । वर्षाले विशेषगरी काटेर खेतमा सुकाएको धानबालीमा क्षति पुर्‍याएको उहाँले बताउनुभयो ।

“यो यामको मुख्य बाली धान हो । किसानहरू यतिबेला धान भित्र्याउने काममा व्यस्त छन् । यस्तो अवस्थामा बेमौसमी वर्षा हुँदा किसानलाई असहजता भएको छ”, बस्ताकोटीले भन्नुभयो, “अहिलेसम्मको अवस्था हेर्दा गोरखामा भारी वर्षा भएको छैन । पाक्दै गरेका र काटेर राखेका धानलाई दुई–तीन दिन घाममा सुकाएमा भित्र्याउन सकिन्छ ।” वर्षा नरोकि पाक्दै गरेका र काटेर सुकाएका धानलाई समस्या नहुने भन्दै उहाँले थप वर्षा भएमा धान झर्ने समस्या हुनसक्नबताउनुभयो ।

जिल्लामा धानखेती हुने १० हजार १४० हेक्टरमध्ये गत वर्ष नौ हजार ५६२ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको थियो । यस वर्ष क्षेत्रफल घटेर आठ हजार ५६५ हेक्टरमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष ३९ हजार ९०० मेक्ट्रिकटन धान उत्पादन भएकामा खडेरी र बाँझोपनका कारण यस वर्ष घट्ने अनुमान कृषि प्राविधिकले गरेका छन् ।

बेमौसमी वर्षात्का कारण पनि यो वर्ष धानको उत्पादन घट्नसक्ने केन्द्रका प्रमुख बस्ताकोटीले बताउनुभयो । गोरखामा रामधान, सावित्री, सुख्खा–२ लगायत उन्नत जातका र हाइब्रिडमा च्याम्पियन, युएस–३१२ धान रोपाइँ हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार केहीले स्थानीय जातका धानका बिउ पनि रोपेका छन् ।

जिल्लाको दरौँदीफाँट, सिर्दीफाँट, शेराफाँट, ज्यादुलफाँट, टारीफाँट, दर्बुङफाँट, बोर्लाङफाँटलगायत स्थानमा धान उत्पादन बढी हुने कृषि केन्द्रले जनाएको छ । जिल्लाको तल्लो भेगमा वर्षात् र माथिल्लो भेगमा भारी हिमपात भएको छ । उत्तरी गोरखाका विभिन्न गाउँबस्तीमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुव्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले यहाँका नागरिक घरभित्रै आगो तापेर बसिरहेका छन् । चौरीहरू पनि भित्रकोभित्रै छन् ।” उहाँका अनुसार यस वडाको तीन हजार मिटर भन्दा माथिको उचाइमा रहेका निले, छुले, पाङदुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् ।

त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायत गाउँ पनि हिउँले ढाकिएको छ । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा पर्ने लार्केपासमा गएका पर्यटकहरू फर्किएका छन् भने कतिपय सामागाउँ, साम्दोमा रोकिएका स्थानीयले बताएका छन् ।

वर्षाले हालसम्म जिल्लाको कुनैपनि सडकखण्ड अवरुद्ध नगराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो । रासस

सेयर गर्नुहोस्