चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त सङ्कलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता मार्फत् मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ ।
चितवनमा दैनिक १०० देखि १५० यूनिट रगतको माग हुने गरेको जनाइएको छ । यो सङ्ख्या सङघीय राजधानी काठमाडौ पछिको दोस्रो रगतको माग हुने जिल्ला हो । रगतको अभाव भएपछि भरतपुर महानगरपालिका वडा नम्बर २ मा आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा भरतपुर महानगरपालिका –२ र १० का वडाध्यक्ष क्रमशः मनोज रानाभाट र परमेश्वर खनाल सहित १०५ जनाले रक्तदान गर्नुभयो ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको आग्रहमा नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणगढद्वारा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा उपशाखाकी अध्यक्ष कृपा राजभण्डारीले रगतको अभाव भएपछि केन्द्रको आग्रहमा आकस्मिक रक्तदानको आयोजना गरिएको बताउनुभयो । अभियानमा जनप्रतिनिधि, सामाजिक व्यक्तित्वहरुसंगै आम रक्तदाताहरुलाई रक्तदान गर्न आव्हान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले रगतको अभाव भएपछि रक्तदान गर्न सबैमा आव्हान गरिएको बताउनुभयो । उहाँका अनुसार आज नेपाल रेडक्रस सोसाईटी उपशाखा गीतानगरले पनि रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार लायन्स क्लबहरुले रक्तदानको कार्यक्रम आयोजना गर्दै छन् । यसबाट क्रमशः रगतको अभाव घट्दै जाने अपेक्षा गरिएको छ ।
रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चाडपर्व, राजनीतिक गतिविधि, संघ संस्थाका गतिबिधिमा कमी, विद्यालय कलेज बिदा, खेतीपाती भित्र्याउने समय लगायतका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । दैनिक बिरामीले खोजेका रक्तदाता र स्वस्फूर्त आउनेहरु ५० हाराहारी हुने भएपनि यसले धान्न नसेको उहाँले बताउनुभयो । यहाँ रहेका क्यान्सर अस्पतालका बिरामीहरुलाई धेरै रगत आबश्यक पर्दछ । त्यसै गरी दुर्घटना, प्रसुती, शल्यक्रिया लगायतमा रगतको अभाव हुने गर्दछ । केन्द्रले चितवन सहित छिमेकी जिल्लामा पुगेर रगत सङकलन गर्ने गरेको छ । रासस







