लैङ्गिक हिंसाबाट पीडितका लागि भद्रपुरमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र यहाँ प्रभावकारी बन्दै गएको छ ।सबैखालका हिंसा पीडित महिला तथा वालवालिकालाई एउटै स्थानबाट उद्धार, उपचार, सुरक्षा, न्याय, पुनर्वास, परामर्श लगायतका सेवा प्रदान निःशुल्क गर्नका लागि केन्द्रको स्थापना भएको हो । प्रादेशिक अस्पताल भद्रपुरमा यो सेवा उपलब्ध छ ।
अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्रबाट आर्थिक वर्ष २०८१/०८२ मा १४७ जना हिंसापीडितले सेवा प्राप्त गरेको केन्द्रकी फोकल पर्सन निलुशा शाक्यले बताउनुभयो । सेवा पाएकामध्ये १०४ जना जबरजस्ती करणीसम्बन्धी हिंसाका पीडित महिला रहेका छन् । घटनाका पीडकहरु १९ देखि ४९ वर्ष उमेर समूहको रहेको समेत उहाँले जानकारी दिनुभयो ।
“ लैंगिक हिंसा, घरेलु हिंसा, बलात्कार, यौन शोषण, मानव बेचबिखन, जबर्जस्ती विवाह लगायतका घटनाका पीडितहरूले एकै ठाउँबाट सेवा पाउन सकुन् भनेर सरकारले केन्द्र सञ्चालनमा ल्याएको हो,” फोकल पर्सन शाक्य भन्नुहुन्छ– “पीडितले यहाँबाट आवश्यक सेवा एकै ढोकाबाट पाउँछन् । विभिन्न निकाय धाइरहनु पर्दैन ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला, वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र झापाका दुई अस्पतालसहित कोशी प्रदेशको १८ वटा अस्पतालमा रहेको छ ।
प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मनोजकुमार साहले केन्द्रमार्फत स्वास्थ्य तथा चिकित्सकीय सेवा, कानूनी उपचार सेवा, मनोसामाजिक परामर्श, सुरक्षित आवास गृह र पुनस्र्थापना सेवा प्रदान भइरहेको बताउनुभयो । फोकल पर्सन शाक्यका अनुसार केन्द्रको संरचनामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने र सरोकारवाला सरकारी निकाय एवम् महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक संस्थाका प्रतिनिधि सदस्य रहने व्यवस्था छ भने जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष र स्थानीय तहका उपप्रमुखरउपाध्यक्ष सदस्य रहनेगरी सल्लाहकार समिति रहने प्रावधान छ ।
केन्द्रले आव २०८१र८२ मा विभिन्न शीर्षकमा रु. ११ लाख ४४ हजार १४२ खर्च गरेको र आव २०८२र८३ का लागि रु. १५ लाख ९५ हजार ३०० को बजेट पारित गरेको शाक्यले जानकारी दिनुभयो । प्रादेशिक अस्पताल भद्रपुरमा विगत सात वर्षदेखि केन्द्र सञ्चालनमा रहेको छ । रासस







