यहाँका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ ।
भरतपुर महानगरपालिका–९ शरदपुरका किसान वेदप्रकाश सापकोटा व्यवसायीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । आफ्नो गोदाम नहुँदा किसानले व्यापारीले भनेको मूल्यमा धानम बेच्नु परेको गुनासो सुनाउँदै भन्नुभयो, “मोटा धान रु तीन हजार र मध्यम धान रु तीन हजार ४०० मा बिक्री गर्नुपर्ने बाध्यता छ ।”
जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेल पनि किसानले समर्थन मूल्य नपाएका बताउनुहुन्छ । राज्यले तोकेको मूल्यमा व्यवसायीले धान खरिद गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
चितवनमा २७ हजार ३२४ हेक्टरमा बर्खे धानखेती गरिएकामा एक लाख ३५ हजार ७२५ मेट्रिक टन उत्पादन भएको छ । बेमौसमी वर्षाका कारण १४९ मेट्रिक टन धानमा क्षति भएको छ । रासस







