प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताउनुभएको छ ।
हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उहाँले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि सुझाव दिनुभयो ।
प्रधानमन्त्री कार्कीले सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व कसरी हुनसक्छ भनेर आफूले पनि प्रयास गर्ने बताउनुभयो ।
हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्थाका लागि आग्रह गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेकोबारे आफ्नो मत प्रधानमन्त्रीलाई राखेको अध्यक्ष सुनारले बताउनुभयो ।
यसअघि आफ्नो निजी कारणले प्रधानमन्त्रीले आलोचना खेप्नुपरेको भन्दै क्षमायाचनासमेत गर्दै उहाँले विषम परिस्थितिमा मुलुक सम्हाल्न अगाडि सरेकामा प्रधानमन्त्री कार्कीप्रति आभार पनि व्यक्त गर्नुभयो । रासस







