मकवानपुरको हेटौंडास्थित बालजागृति विद्यालयमा शुक्रबारदेखि सुरु भएको स्क्राबल क्लब नेपालको ११औं राष्ट्रिय च्याम्पियनसिपका अवसरमा बसेको केन्द्रिय समिति चयन भेलाले नयाँ कार्यसमिति गठन गरेको छ। प्रतिस्पर्धा मात्र नभई संगठनात्मक सुदृढीकरणलाई पनि विशेष प्राथमिकता दिँदै सम्पन्न भएको उक्त भेलाले आगामी कार्यकालका लागि सशक्त नेतृत्व चयन गरेको हो।

नयाँ कार्यसमितिअनुसार केन्द्रीय अध्यक्षमा केशव प्रसाद पराजुली, उपाध्यक्षमा धुब थापा चयन भएका छन्। त्यसैगरी महासचिवको जिम्मेवारी नवीन पन्तलाई तोकिएको छ भने कोषाध्यक्षमा पूर्ण बहादुर राना चयन भएका छन्। संगठन विस्तार र प्रभावकारी सञ्चालनका लागि अमर कुँवर सचिव र विनोद पौडेल सह-कोषाध्यक्षमा चयन भएका छन्।
व्यवस्थापन तथा स्वयंसेवक समन्वयतर्फ निर्देशकको जिम्मेवारी शर्मिला पौडेलले पाएकी छन् भने सदस्यता विकासका लागि निर्देशकको भूमिका भोजराज सुबेदीलाई तोकिएको छ। त्यस्तै प्राविधिक तथा व्यावसायिक विकास निर्देशकमा अर्जुन पाण्डे, र जनसम्पर्क तथा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशकमा अपर्णा गुप्ता चयन भएका छन्।
यसबाहेक, संगठनको सन्देश–सूचना व्यवस्थापनलाई थप सुदृढ बनाउन बुद्ध गौतमलाई प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको छ। काठमाडौंँ संयोजकको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका गौतमलाई केन्द्रीय प्रवक्ताका रूपमा चयन गरिएको खबरपछि क्लबभित्र उत्साह थपिएको देखिन्छ।
कार्यसमितिको पूर्णतापछि अब क्रमशः प्रदेश, जिल्ला तथा गाउँ–नगर तहमा संगठन विस्तारको प्रक्रिया अघि बढाइने जानकारी महासचिव नवीन पन्तले दिएका छन्। साथै, क्लबको १२औं राष्ट्रिय च्याम्पियनसिप बुटवलस्थित एपेक्स स्कूलमा आयोजना गर्ने निर्णयसमेत भेलाले गरेको छ।
नयाँ नेतृत्व चयनसँगै स्क्राबल क्लब नेपालको संरचना थप सुदृढ हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गतिविधि विस्तारमा नयाँ उर्जा प्रवाहित हुने आशा गरिएको छ।







