नदी किनारमा फोहोर जलाउनेलाई कारबाही गर्न चितवनको जेन-जी समूहको माग

नारायणी नदी किनारमा फोहोर जलाएको विषयमा चितवनको जेन-जी समूहले दोषीमाथि कडा कारबाहीको माग गरेको छ । चितवन जिल्ला खेलकुद विकास समितिले खेलकुद तथा व्यापारिक महोत्सव आयोजना गर्दा उत्पन्न फोहोर नदी किनारमै जलाएको घटनामा जेन-जी समूह र बेटर चितवन नामक संस्थाले आइतबार भरतपुर महानगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

‘महोत्सव सकिएकै महिना दिनभन्दन बढी भयो । त्यहाँको फोहोर त्यहीँ जलाएपछि हामीले सम्बन्धित पक्षलाई कारबाही गर्न माग गर्दै महानगरमा निवेदन बुझाएको पनि अब महिना दिन हुँदै छ तर कारबाही भएको नदेखेपछि आज फेरि पत्र बुझाएका छौं,’ बेटर चितवनका संस्थापक इन्जिनियर सागर कार्कीले भने । बेटर चितवन र जेन-जी समूहले गएको मंसिर ८ गते कारबाहीका लागि उजुरी दिएका थिए ।

पत्रमा नदी किनारमै फोहोर जलाउनेलाई ४८ घण्टाभित्र कारबाही नगरे कारबाहीका लागि उपल्लो निकायमा जाने चेतावनी उनीहरुले दिएका छन् । ‘कारबाही प्रक्रिया सुरु नभएमा हामी नागरिक तहबाट सर्वोच्च अदालत, संवैधानिक निकाय र अन्य कानुनी माध्यममार्फत अघि बढ्न बाध्य हुने जानकारी गराउँछौं,’ पत्रमा उल्लेख छ । उनीहरुले महानरका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र बुझाएका हुन् ।

पत्र बुझेसँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले ९ गते ५ बजेभित्र दोषी पक्षलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । ‘हामी यसका बारेमा मिहिन ढंगले बुझेर कारबाही प्रक्रियामा लागेका छौं । पूर्वाग्रह गरेर कारबाही गर्‍यो भन्ने मान्छेमा नपरोस् भनेर केही समय हामीले लिएको हो,’ पौडेलले भने । पुस ८ गते नगरसभा सकेर एक्सन लिने उनले बताए ।

चितवन जिल्ला खेलकुद विकास समितिले कात्तिक १८ देखि मंसिर २ सम्म नारायणी नदी किनारमा महोत्सव गरेको थियो । निकै भिडभाडका साथ सकिएको महोत्सवको फोहोर नदी किनारमै थुपारेर आगो लगाएको बेटर चितवन तथा चितवन जेन-जी समूहले बताउँदै आएको छ । खर्च घटाउनका लागि आयोजकले यस्तो काम गरेको उनीहरुको भनाइ छ ।

‘महोत्सवपश्चात् उत्पन्न फोहोरलाई व्यवस्थित रुपमा व्यवस्थापन नगरी विभिन्न स्थानमा थुपारेर लागत घटाउने उद्देश्यले जलाइएको घटना’ भनेर बेटर चितवन तथा जेनजी समूहले उल्लेख गरोक छन् । नारायणी नदीजस्तो धार्मिक हिसाबले पवित्र र वातावरणीय हिसाबले संवेदनशिल क्षेत्रमा यस्तो गर्नु उचित काम नभएको हुँदा यस्ता घटना दोहोरिन नदिन कारबाही हुनुपर्ने उनीहरुको माग छ ।

महानगरलाई बुझाएको पत्रमा दोषिलाई दण्ड, जरिवानाका साथै उक्त घटनाले नारायणी नदी क्षेत्रमा भएको वातावरणीय क्षतिको मूल्यांकन गरी आयोजकबाटै त्यसको भरपाई गराउन भनिएको छ । आगामी दिनमा यस्तो काम नहोस् भन्नका लागि कार्यक्रमहरु गर्दा आयोजकलाई फोहोर व्यवस्थापन र उपयुक्त विर्सजनका लागि पहिल्यै प्रतिबद्ध गराउन महानगरसँग समूहले माग गरेको छ ।

फोहरमा आगो लगाएको घटना सार्वजनिक भएर जेन-जी समूहले कारबाहीको माग गरेलगत्तै महोत्सव आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले प्रेस विज्ञप्ति निकालेर यो घटना समितिबाट नभएको जनाएको थियो । समितिका अध्यक्ष राजन कार्कीले मंसिर ९ मा निकालेको विज्ञप्तिमा व्यस्थापनका लागि फोहोर संकलन गरेर राखेको ठाउँमा राति आएर अज्ञात व्यक्तिले आगो लगाएको उल्लेख छ । अरु कसैले लगाएको आगोका कारण समितिको बद्नाम भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न कार्कीले पनि माग गरेका थिए । यस विषयमा समितिले प्रशासनसँग समन्वय गर्न तयार रहेको उनले बताएका थिए । तर घटना भएको महिना दिन नाघे पनि यसमा केही प्रगति भएको छैन ।

 

सेयर गर्नुहोस्