नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरु नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गर्नुभएको छ ।
पार्टीको ११ औँ महाधिवेशनका स्वयंसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छेहरु समेत नसामा भेटिने गरेको उहाँको भनाइ छ । उहाँले युवाहरुले ठिक ढंगले कुरा नबुझ्नु, ठिक आचरण गर्न नसक्नु र ठिक ढंगले आफूलाई प्रश्तुत गर्न नसक्नु मुलुककै लागि समस्या विषय भएको बताउनु भयो । उहाँले एमालेमा आवद्ध युवाहरु यस्तो दुव्र्यसनीमा नरहेको समेत जिकिर गर्नुभयो । उहाँले पार्टीको ११ औँ महाधिवेशनमा स्वयंमसेवकको कार्यमा खटिएका युवाहरुको कार्यसम्पदानको प्रशंसा गर्दै धन्यावाद समेत ज्ञापन गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आजको दिनमा युवाहरुले ठिक कुरा बुझ्नु, ठिक आचरण गर्नु र ठिक ढंगले आफूलाई प्रश्तुत गर्नु देशकै समस्या भएको छ । तर हाम्रो युवाहरुले एउटा नमूनाको रुपमा देखायो । देशका चर्चित भनिएका मान्छेहरु नसामा झुम्मिन्छन् । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छे पनि नशामा भेटिन्छन् । तर हाम्रा युवाहरुमा त्यस्तो कुनै दुव्र्यसन देखिएन । मेरो इख मानेर दुव्र्यसनमा भएकाहरुले छोड्नुभयो भने म धेरै खुसि हुन्छु । यदि कसैले भोलिन्टियरको नियम पालना गरेको छैन भने त्यस्तो अवस्थामा कारबाही हुन्छ भनेका थियौँ । कोही नियमबाहिर गएको भए कारबाही भएको होला । तर कोही पनि बाहिर गएको छैन । कसैका लागि भोट समेत मागेको छैन ।’ उहाँले मुलुकको स्वाधिनताको रक्षाका लागि एकतावद्ध भएर अगाडि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल







