रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहको सम्झौताप्रति ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षण रहेको उज्यालो नेपाल पार्टीले प्रतिक्रिया दिएको छ । उज्यालो पार्टीले सभापति रवि र मेयर बालेनको सम्झौताले जेनजी आन्दोलनको भावनालाई सम्पूर्ण रूपमा नसमेटेको टिप्पणी गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न रहँदै आएका जितराम लामाले जेनजी आन्दोलनको मूल भावनालाई सम्झौताले समेट्न नसकेको बताएका हुन् । ‘हामी हाम्रौ हिसावले अगाडि बढ्छौं । कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेर जनतामा जान्छौं,’ उनले भने ।
रवि र बालेन सातबुँदे सम्झौता गर्नुअघिसम्म उज्यालो नेपाल पार्टीसँग संवादमा थिए । शनिबार दिनभर बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले रास्वपाले पठाएको एकता प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको थियो । लत्यसको १२ घण्टा नबित्दै रवि र बालेनबीच सोही प्रस्तावमा सातबुँदे सहमति भएको हो ।







