आन्ध्र प्रदेशमा गुडिरहेको रेलमा आगलागीः एक जनाको मृत्यु, यात्रुहरू भागेर बाँचे

भारतको आन्ध्र प्रदेशको अनाकापल्ली जिल्लास्थित डुब्बाडा टाटा नगर–एरनाकुलम एक्सप्रेस रेलको दुई वातानुकूलित बोगीमा सोमबार बिहान आगलागी हुँदा एक जना ७० वर्षीय वृद्धको जलेर मृत्यु भएको छ । धेरै यात्रुहरूले भने भागेर ज्यान जोगाउन सफल भएका हिन्दुस्तान टाइम्सले लेखेको छ ।

समाचारमा जनाइएअनुसार टाटानगरबाट एरनाकुलमतर्फ विशाखापट्टनम हुँदै गइरहेको उक्त रेलमा डुव्वाडा पार गरेपछि करिब डेढ बजे आगो लागेको थियो ।

एक रेल्वे प्रहरी अधिकारीका अनुसार लोको पाइलटहरूले येलामञ्चिली नजिकैको रेलवे पोइन्टमा घटनाको पहिलो पटक जानकारी पाएका थिए, त्यसपछि रेललाई तुरुन्तै स्टेसनमा रोकिएको थियो । दमकल आइपुग्नुअघि आगो तीव्र गतिमा फैलिसकेको थियो । दुई एसी कोचहरू पूर्ण रूपमा ध्वस्त भएका थिए ।

बाक्लो धुवाँले कोचहरू भरिएपछि यात्रुहरू आत्तिएर प्लेटफर्ममा निस्किएका थिए । प्रत्यक्षदर्शीहरूले बाक्लो धुवाँका कारण केही नदेखिएकाले थप अन्योल र त्रास बढेको बताए ।

रेल्वे अधिकारीहरूले एक जनाबाहेक अरु यात्रु सुरक्षित रहेको बताएका छन् । मृतकमा विजयवाडाका ७० वर्षीय चन्द्रशेखर सुन्दर रहेका र उनको जलेर मृत्यु भएको समाचारमा उल्लेख छ ।

उक्त रेल अन्ततः निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो अनाकापल्ली पुगेको थियो । रेलवे स्रोतहरूले संकेत गरेअनुसार रेल अनाकापल्लीबाट छुट्दा नरसिंगाबल्ली नजिकै स्पार्क र आगोको ज्वाला देखिएको थियो । एसी कोचको ब्रेक अत्यधिक तातिएर आगलागी भएको जनाइएको छ ।

अनाकापल्ली, एलामाञ्चिली र नक्कपल्लीबाट दमकलहरू घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए । दमकलहरूलाई आगो निभाउन घण्टौँ लागेको थियो । -एजेन्सी

सेयर गर्नुहोस्