संसदीय निर्वाचनमा चितवन–३ : मतदाता रिझाउन उमेदवारका फरक शैली

भरतपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा अमूल्य मतको लागि चितवन निर्वाचन क्षेत्र नं ३ का उमेदवारहरु मतदाता रिझाउन व्यस्त छन् । उमेदवारहरु मतदाताको घरदैलोमा पुग्ने र स्थानीयका समस्या सुन्ने कार्यमा केन्द्रित भएका हुन् ।

विकासप्रेमी छवि बनाएकी रेनु दाहाल नेकपाकी उमेदवार हुन् । रास्वपाकी प्रखर वक्ता सोविता गौतम पनि यही क्षेत्रकी उमेदवार बनेकी छन् । यी दुई महिलाको भिडन्त यहाँ चर्को देखिएको छ । रेनुको काम र उपलब्धि स्पष्ट देखिन्छ भने सोविताको सक्रियता र नयाँ दृष्टिकोण झल्कन्छ । दुई महिलालाई मतदाताले सकारात्मक सुझाव दिइरहेका छन् ।

मतदातासमक्ष रेनुले ९ वर्ष मेयर रहँदा भरतपुरका जीर्ण विद्यालय, धुलाम्य सडक र साँघुरो मार्गजस्ता चुनौतीहरु सुधार्दै सहरमा नयाँ विकास मोडल प्रस्तुत गरेकी छन् । उनका समर्थकहरुको दावीअनुसार कार्यकुशलता र उपलब्धिले रेनुलाई यस क्षेत्रमा जितको नजिक पु¥याएको छ ।

उनीहरुले विकास निर्माणदेखि बेरूजु फस्र्योटमा रेनुले उदाहरणीय काम गरेको बताइरहेका छन् । रेनु पछिल्लो एक दशकदेखि चितवनको राजनीतिमा प्रभावशाली पात्रका रुपमा स्थापित हुँदै आएकी छन् । उनको लोकप्रियता केवल दलगत आधारमा सीमित नभई स्थानीय विकास, नेतृत्व शैली र निरन्तरतासँग गाँसिएको उनका समर्थकहरुको दावी छ ।

काठमाडौँ–२ बाट प्रतिनिधिसभा जितेकी सोविता गौतमको व्यवसायी गिहेन्द्र घिमिरेसँग विवाह गरेपछि चितवन मंगलपुरस्थित गोपालचोकमा घर भएको हो । वैवाहिक सम्बन्धका कारण चितवनसँग सामीप्यता बनाएकी छन् उनले । नयाँ दलको जोस, ऊर्जाशीलता र सङ्गठनात्मक शक्ति लिएर मतदातामाझ गइरहेकी छन् सोभिता । समर्थकहरुले उनलाई कमिटेड र काबिल उमेदवारका रुपमा मूल्याङ्कन गरेका छन् ।

सोबिताको समर्थकहरुको दावीअनुसार उनको उमेदवारी केवल भौगोलिक छनोटमा सीमित नभई पार्टीको रणनीति, स्थानीय शक्तिसन्तुलन, मतदाताको व्यवहार र विगतका निर्वाचन नतिजासँग गहिरोरुपमा जोडिएको छ । २०७९ सालको निर्वाचनमा यहाँका मतदाताले वैकल्पिक राजनीतिप्रति झुकाव देखाएका थिए भने परम्परागत दलहरुप्रति असन्तुष्टि पनि स्पष्ट थियो । यही पृष्ठभूमिमा सोविताको उमेदवारीलाई ‘सही समयमा सही ठाउँ’को निर्णयका रुपमा व्याख्या गरिएको छ ।
२०७२ सालमा संविधान जारी भएपछि नेपाली कांग्रेस र नेकपा एमालेले पहिलोपटक कसैसँग तालमेल नगरी आआफ्ना पार्टीका उमेदवार पाएका छन् ।

कांग्रेसले पुराना तथा अनुभवी नेता टेकप्रसाद गुरूङ यस क्षेत्रको उमेदवारी हुन् । उनी पनि मतदाता रिझाउन व्यस्त छन् । पुराना नेता हुन् गुरूङ । उनका समर्थहरुले आदिवासी जनजातिको मत, १२ वर्षपछि कांग्रेसले पाएको रुख चिन्ह, पार्टीको नीति र सिद्धान्तका कारण गुरूङले जित्ने दावी गर्छन् । नेपाली कांग्रेस नयाँ रुपान्तरण भएर आएको भन्दै गुरूङ मतदातालाई रिझाइरहेका छन् । घरदैलोको क्रममा माडीमा रहेका गुरूङले माडीलाई पहिले ‘प्राकृतिक जेल’को संज्ञा दिएको स्मरण गर्दै उक्त अवस्थाबाट मुक्त गराउन पहल गरेको दाबी गरे ।

एमालेले भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलियालाई उमेदवार बनाएको छ । किसानको छोरो भएकोे बताउँदै उनी बारीबारीमै पुगेर मतदाता रिझाइरहेका छन् । पटिहानी निवासी थपलिया पर्यटन क्षेत्रको राम्रो दख्खल छ । उनी पनि मतदाता रिझाइरहेका छन् । एमालेको मजबुद संगठनको आधारमा जित निकाल्न सकिने उनका समर्थकहरुको दावी छ ।

राप्रपाले युवानेता दीपक मगरलाई चुनावी मैदानमा उतारेको छ । राप्रपाका युवा नेता हुन् उनी । यसअघि राप्रपाकै विक्रम पाण्डेले जितेको ठाउँ भएका कारण पनि दीपक आफ्नो पनि जित हुने दावी गर्छन् । १२ वर्षयता कांग्रेसले रुखमा र एमालले सूर्यमा भोट हाल्न नपाएका यहाँका कांग्रेस र एमालेमा यतिबेला खुसी छाएको छ ।

यो संसदीय निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका ६, ८, ९ र १३ देखि २८ वडा गरी १९ वटा वडा र माडी नगरपालिकाका सबै वडा पर्छन् । यो क्षेत्र आधाभन्दा बढी भाग भरतपुर महानगर र आधा माडी नगरपालिका मिलेर बनेको छ । यहाँ १ लाख ५५ हजार ३०९ मतदाता रहेका छन् ।

यसअघि २०७९ को निर्वाचनमा चितवन–३ मा राप्रपाका नेता विक्रम पाण्डे विजयी भएका थिए । पाण्डेले ३५ हजार ६० मत प्राप्त गर्दै विजयी भएका थिए । उनलाई एमालेले समर्थन गरेको थियो । दोस्रो स्थानमा रहेका तत्कालीन माओवादी केन्द्रका भोजराज अधिकारीले २५ हजार ८२४ मत प्राप्त गरेका थिए । उनलाई कांग्रेसले समर्थन गरेको थियो । कांग्रेसका दिनेश कोइरालाले पार्टीको निर्णयविरूद्ध स्वतन्त्र उमेदवार बन्दै १२ हजार २७५ मत प्राप्त गरेका थिए । रास्वपाकी जीता बरालले भने १४ हजार ८४३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन् ।

समानुपातिकतर्फ भने यस क्षेत्रमा सबैभन्दा बढी मत रास्वपाले हासिल गरेको थियो । रास्वपाले यस क्षेत्रबाट समानुपातिकमा २८ हजार ४०१ मत प्राप्त गरेको थियो । राप्रपाले १६ हजार ७५५ मत प्राप्त गरेको थियो । तत्कालीन माओवादी केन्द्रले १६ हजार ९० मत प्राप्त गरेको थियो । एमालेले १४ हजार ५२२ मत प्राप्त गरेको थियो । त्यस्तै, नेपाली कांग्रेसले १० हजार ५२४ मत प्राप्त गरेको थियो ।

सेयर गर्नुहोस्