सामाजिक अभियन्ता तथा कांग्रेसकी नेत्री मिना खरेलको बढ्दो जनसमर्थन, चितवन–२ मा बलियो दाबेदारी

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ यतिबेला देशकै चासोको केन्द्र बनेको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी नेत्री तथा सामाजिक अभियन्ता मिना कुमारी खरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुँदैछ। तर चुनावी माहोलसँगै यतिबेला क्षेत्र नम्बर–२ मा सबैभन्दा बढी चर्चा भने खरेलको सामाजिक योगदान र जनआधारको भइरहेको छ।

१५ वर्षको किशोरावस्थादेखि नै सामाजिक कार्यमा होमिएकी खरेलले आफ्नो जीवनका झन्डै ३५ वर्ष असहाय महिला, हिंसापीडित महिला र टुहुरा बालबालिकाको संरक्षण, शिक्षा र पुनर्स्थापनामा समर्पित गर्दै आएकी छन्।
महिलाको हकअधिकार, सम्मान र आत्मनिर्भरता सुनिश्चित गर्न उनले निरन्तर आवाज उठाउँदै विभिन्न सामाजिक अभियान सञ्चालन गरेकी छन्। स्थानीयस्तरमा संकट पर्दा सबैभन्दा पहिले पुग्ने अनुहारका रूपमा उनको छुट्टै पहिचान बनेको छ।

चितवन–२ कै स्थानीय बासिन्दा भएकाले गाउँ–टोलका समस्या प्रत्यक्ष बुझ्ने, जनताको दुःख–सुखमा साथ दिने र सधैं उपलब्ध रहने नेतृका रूपमा मतदाताले उनलाई ‘आफ्नै मान्छे’को रूपमा लिने गरेका छन्। यही कारण खरेलप्रति महिला, युवा र अभिभावक वर्गको समर्थन बढ्दो देखिएको छ।

यतिबेला नेपाली कांग्रेसले “कांग्रेस बदल्छौँ, देश बदल्छौँ” भन्ने नारासहित अभियानलाई तीव्र बनाइरहेको छ। सोही नारासँगै खरेलको घरदैलो कार्यक्रम र जनसम्पर्क अभियानले थप गति लिएको छ। स्थानीय विश्लेषकहरूका अनुसार उनको लामो सामाजिक सेवा, विश्वासिलो छवि र बलियो जनसम्पर्कका कारण यसपटक चितवन–२ मा मिना खरेलको जित्ने सम्भावना उच्च देखिएको छ।

उता राष्ट्रिय स्तरका प्रख्यात नेता तथा अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका रवि लामिछाने पनि आफ्नो राजनीतिक एजेन्डासहित मैदानमा छन्। राष्ट्रिय प्रभाव बोकेका लामिछाने र स्थानीय समाजसेवाबाट उदाएकी खरेलबीचको यो प्रतिस्पर्धालाई अनुभव, सेवा र स्थानीयता बनाम राष्ट्रिय छविको भिडन्तका रूपमा हेरिएको छ।

यसपटकको निर्वाचनले चितवन–२ का मतदाताले कस्तो नेतृत्व रोज्छन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

सेयर गर्नुहोस्