सामाजिक सेवामा जीवन समर्पण गरेकी खरेल चितवनको उम्मेदवार हुनु गर्वको विषय : सापकोटा

चितवन 

सामाजिक सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेकी मिना खरेल चितवन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार हुनु सम्पूर्ण क्षेत्रका लागि गर्वको विषय भएको मिना खरेलकी सहकर्मी तथा साथी सिता सापकोटाले बताएकी छन्।

सिता सापकोटाका अनुसार वि.सं. २०४९ सालतिर चितवन जिल्लामा उनीहरू भर्खर १५/१६ वर्षको किशोर अवस्थामा थिए। स्कुल सकाएर कलेजमा भर्खर प्रवेश गरेको समयमा समाजमा असहाय, गरिब, महिला तथा बालबालिका अत्यन्त जोखिममा थिए। दाइजो प्रथा, बलात्कार र महिला बेचबिखनका घटनाहरू बढ्दो अवस्थामा रहेको बेला मिना खरेलसहित केही साथीहरूले “अब केही गर्नैपर्छ” भन्ने अठोटका साथ सामाजिक काम सुरु गरे।

त्यो समयमा गोजीमा एक सय रुपैयाँ पनि नभएको स्मरण गर्दै सापकोटाले भनिन्, “हामीले चितवनका सडक बालबालिकादेखि हिंसामा परेका महिलासम्मको उद्धार र सहयोगमा काम थाल्यौं। किशोर उमेरमै मिना खरेलले सामाजिक सेवामा पाइला चाल्नुभयो, जुन आजसम्म निरन्तर छ।”

सिता सापकोटा आफ्नो भविष्य बनाउन युरोप गएको बताउदै मिना खरेलले विवाहसमेत नगरी आफ्नो सम्पूर्ण जीवन सामाजिक सेवामै समर्पण गरेको बताइन्। “पढेलेखेकी, सक्षम महिला भएर पनि जागिर, व्यापार गरेर व्यक्तिगत भविष्य बनाउन सक्नुहुन्थ्यो, तर उहाँले सबै कुरा त्यागेर समाजसेवामा आफूलाई अर्पण गर्नुभयो,” उनले भनिन्।

मिना खरेलद्वारा सञ्चालन गरिएको आदर्श गृह अहिले हजारौँ अनाथ बालबालिका, असहाय महिला र वृद्धहरूको सहाराको केन्द्र बनेको छ। सापकोटाका अनुसार आदर्श गृह केवल एउटा संस्था नभई देशभरका दिनदुःखीहरूको घर हो।

सापकोटाले भनिन्, “मिना खरेल जस्तो महिला चितवन–२ बाट उम्मेदवार हुनु सौभाग्यको कुरा हो। उहाँले यस क्षेत्रलाई दिनुभएको योगदान नै उहाँको जितका लागि पर्याप्त आधार हो। यस क्षेत्रमा उहाँजस्तो काम गरेर देखाउने अर्को उम्मेदवार छैन।”

उम्मेदवारीको खबर पाउनासाथ आफू सात समुद्रपारिबाट सहयोगका लागि नेपाल आएको बताउँदै उनले भनिन्, “हामीले आफ्नो भविष्य हेरेर विदेश गयौं, तर मिना खरेलले व्यक्तिगत सुख–सुविधा त्यागेर महिला र बालबालिकाको भविष्यका लागि अहोरात्र काम गरिरहनुभएको छ।”

नेपाली कांग्रेस पार्टी परिमार्जित भएर आएको उल्लेख गर्दै सापकोटाले भनिन्, “नेपाली कांग्रेसले गफ र भाषण गर्ने होइन , काम गरेर देखाउने उम्मेदवार पाएको छ। मिना खरेल जस्तो निष्ठावान, कर्मशील र समर्पित उम्मेदवार पाउनु चितवन–२ का लागि ऐतिहासिक अवसर हो।”

अन्त्यमा उनले सबै मतदातालाई आग्रह गर्दै भनिन्, “गफ गर्ने धेरै आउँछन् र जान्छन्, तर जनताको सेवा गर्ने व्यक्ति सधैँ जनतासँगै हुन्छ। अब बितिसकेपछि मूल्याङ्कन गर्ने होइन, अहिले नै सही निर्णय गर्ने बेला आएको छ । चितवन–२ बाट बहुमत दिएर रुख चिन्हमा मतदान गरी मिना खरेललाई जिताऔँ। यो जित चितवनका लागि मात्र होइन, समग्र नेपाली नारीहरूको अधिकार र आवाजका लागि हुनेछ।”

सेयर गर्नुहोस्