भरतपुर–२ मा उम्मेद्वार मीना खरेलद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन

भरतपुर महानगरपालिका–२ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय कार्यक्रमका बीच पुनः उद्घाटन गरिएको छ। जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त पारिएको उक्त कार्यालय पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा ल्याइएको हो। कार्यालयको उद्घाटन नेपाली कांग्रेसकी नेतृ मीना खरेलले गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो भने वडा नम्बर–२ का क्रियाशील सदस्य तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

चितवन क्षेत्र नम्बर–२ मा निर्वाचन नजिकिँदै गर्दा पार्टी संगठनलाई थप सशक्त र सक्रिय बनाउने उद्देश्यसहित कार्यालय पुनः सञ्चालनमा ल्याइएको नेताहरूले बताएका छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै भरतपुर–२ का वडाध्यक्ष एवं नेपाली कांग्रेस वडा सभापति मनोज रानाभाटले आगामी निर्वाचनलाई लक्षित गर्दै सबै क्रियाशील सदस्यहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै नेतृ मीना खरेललाई अत्याधिक मतका साथ विजयी गराउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै मीना खरेलले मतदाता, शुभेच्छुक तथा कार्यकर्ताहरूको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै जनताको सेवा र विकासका कामलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सेयर गर्नुहोस्