फागुन ५, काठमाडौ
नागार्जुन, काठमाडौंस्थित निर्भाना एकेडेमीको कम्युनिटी सर्भिस क्लबको आयोजनामा समुदाय लक्षित निर्माण कम्युनिटी आउटरीच कार्यक्रम फागुन १ गते मेलम्ची–१, सिन्धुपाल्चोक जिल्लामा अवस्थित श्री शिवपुरी आधारभूत विद्यालयमा भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रमअन्तर्गत निर्माण एकेडेमीका विद्यार्थीहरूले उक्त विद्यालयमा पुस्तक अध्ययन संस्कृतिको विकास गर्ने उद्देश्यले “बुक कर्नर” स्थापना गरेका छन्। साथै त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई झोला, कापी तथा अन्य शैक्षिक सामग्री सहयोगस्वरूप वितरण गरेका छन्।

विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने तथा मानवीय गुणको विकास गर्ने उद्देश्यले स्थापना गरिएको कम्युनिटी सर्भिस क्लबले विद्यालयमा विभिन्न कार्यक्रम आयोजना गरी कोष सङ्कलन गर्दै आएको छ। सङ्कलित कोषबाट सरसफाइ अभियान, सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग, ज्येष्ठ नागरिक, टुहुरा तथा अपाङ्ग भएका बालबालिकालाई आर्थिक एवं भौतिक सहयोग प्रदान गर्ने कार्यहरू सञ्चालन गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रममा शिवपुरी आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री दीपक चौलागाईंले विद्यार्थीहरूको सराहनीय पहलको स्वागत गर्दै धन्यवाद व्यक्त गर्नुभयो। त्यसैगरी निर्भाना एकेडेमीका प्रधानाध्यापक श्री निराजन अधिकारीले कम्युनिटी आउटरीच कार्यक्रमको उद्देश्य, गतिविधि तथा आगामी योजनाबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा निर्भाना एकेडेमीका २१ जना विद्यार्थी र ५ जना शिक्षकका साथै शिवपुरी आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक रामप्रसाद सापकोटाका अनुसार यस कार्यले विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।






