तेस्रो निर्भाणा कला प्रदर्शनी २०८२ नेपाल आर्ट काउन्सिलमा सुरु
निर्भाणा एकेडेमीको आयोजनामा तेस्रो निर्भाणा कला प्रदर्शनी २०८२ नेपाल आर्ट काउन्सिल, बबरमहल काठमाडौंमा भव्य रूपमा सुरु भएको छ । फाल्गुन १६ र १७ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा विद्यार्थीहरूद्वारा सृजित कलाकृतिको अवलोकन गर्न पाइने छ ।

लिटल एन्जेल्स स्कूलका प्रिन्सिपल तथा उद्घाटन समारोहका प्रमुख अतिथि मुकुन्द राज शर्माले रिबन काटी प्रदर्शनीको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै उहाँले बालबालिकाको सर्वाङ्गीण विकासमा कला र सृजनशीलताको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो। साथै निर्भाणा एकेडेमीले विद्यार्थीहरूमा अन्तरनिहित सृजनात्मक प्रतिभा प्रवर्धनका लागि निरन्तर रूपमा गर्दै आएको प्रयास प्रशंसनीय रहेको भन्दै यस्ता कार्यक्रमहरू अन्य विद्यालयका लागि समेत प्रेरणादायी हुने धारणा राख्नुभयो ।

औपचारिक समारोहका विशेष अतिथि क्वेस्ट–नेपालका अध्यक्ष तथा काठमाडौँ विश्वविद्यालय हाई स्कूलका प्रिन्सिपल नारद कुमार रिजालले प्रदर्शनीमा सहभागी हुन पाएकोमा हर्ष प्रकट गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । त्यसैगरी विशेष अतिथिकै रूपमा उपस्थित ईपीएस स्कूलकी संस्थापक प्रिन्सिपल प्रमिला सिंहले पनि कार्यक्रमप्रति सद्भाव व्यक्त गर्नु भएको थियो ।
आयोजक विद्यालय निर्भाणा एकेडेमीका प्रिन्सिपल निराजन अधिकारीले स्वागत मन्तव्यका क्रममा विद्यार्थी, कलाशिक्षक तथा अभिभावकको सहजीकरणमा विद्यालयले यस स्तरको प्रदर्शनी आयोजना गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले कला प्रदर्शनीलाई विद्यालयको ‘सिग्नेचर कार्यक्रम’का रूपमा स्थापित गरिएको बताउँदै कलामार्फत समग्र शिक्षामा गुणात्मक अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका निर्देशक ज्ञानु रत्न तुलाधरद्वारा धन्यवाद ज्ञापन गरिएको उक्त उद्घाटन समारोहको सहजीकरण विद्यालय संयोजक जीवन जोशीले गर्नुभएको थियो।

काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी, कलाकार, शिक्षाविद्, अभिभावक तथा शिक्षकहरूको सहभागिता रहेको यस प्रदर्शनीमा विविध प्रकारका कलाकृतिहरू प्रदर्शनमा रखिएका छन् । कलाशिक्षक पुनम मास्केको नेतृत्वमा सम्पन्न हुने यो प्रदर्शनी नवयुवा कलाकार एवम् कला पारखीका लागि राम्रो मञ्च बन्न सक्ने विश्वास लिइएको छ ।






