सुजता उपरकोटीलाई सानैदेखि देशको सेवा गर्ने चाहना थियो । ४० दिन भएपनि उनले निर्वाचन प्रहरी बन्दै देशको सेवा गर्ने मौका पाइन । शान्तपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेपछि सुजतासहित चितवनमा खटिएका २ हजार ७ सय ६६ निर्वाचन प्रहरी बिहीबार बिदा भए । सेवाबाट बिदाई हुँदै गर्दा उनीहरुले अर्को महत्वपूर्ण मानविय सेवा ‘रक्तदान’ गरेर गए । ‘देशको सेवा गर्ने चाहना बच्च देखि नै थियो, छोटो समयमा देशको सेवा गर्दा म पनि देशको लागि केही गर्न सक्ने रहेछु भन्ने फिल भयो, अहिले बिदाई हुँदै गर्दा रक्तदान गरेर मानविय सेवा गर्न पाउँदा अझै खुशी लाग्यो’–सुजताले सुनाईन । यही सेवालाई अझै निरन्तरता दिन पाएको भए अझै खुशी मिल्ने उनको भनाई थियो ।निर्वाचन प्रहरीले नै सुवास पंगेनीलाई पहिलोपटक रक्तदान गर्न अवसर मिलायो । निर्वाचन सुरक्षित रुपमा सम्पन्न गर्न आफ्नो जिम्मेवारी निर्वाह गरेका पंगेनीले अन्तिममा आफ्नो जीवनकालकै पहिलो रक्तदान समेत गर्न पाए । ‘जीवनमा पहिलोपटक रक्तदान गर्दै नयाँ अनुभव लिन पाए, सबै अनुभव लिनुपर्छ भन्ने मान्यता राख्छु, निर्वाचन सम्पन्न गर्नमा मेरो पनि योगदान रहेकोमा खुशी छु’–पंगेनीले भने ।बिदाईको क्षणमा सबैजसो निर्वाचन प्रहरी खुशी देखिन्थे । निर्वाचन सफल भएकोमा आफ्नो जिम्मेवारी पनि कुशलतापूर्वक सम्पन्न भएको महसुस गर्छन प्रेमप्रसाद रिमाल । ‘चुनाव पनि सोचे भन्दा सुरक्षित र राम्रो भयो, देशका लागि पनि सेवा गरियो, जाँदाजाँदै रक्तदान गरेर मानविय सेवा गर्ने मौका पनि मिल्यो । म एकदम खुशी छु साथीहरु पनि खुशी छन्’–रिमालले सुनाए ।
बिदाई कार्यक्रमलाई मानविय सेवामा समर्पित गर्ने काम जिल्ला प्रहरी कार्यालय र ब्लड डोनर्स सोसाईटी नेपालले गरेको थियो । छोटो समयमा १३५ जनाले रक्तदान गरेको सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । उनले यो कार्यक्रमबाट धेरै नयाँ रक्तदाता जोडिएको बताए । ‘अहिले चितवनमा रगत अभाव छ, निर्वाचन प्रहरीलाई रक्तदानमा सरिक गराउँदा रक्तदान बारे थप सचेतना जगाउन सहज भएको छ’–अध्यक्ष अधिकारीले भने ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले निर्वाचन प्रहरीलाई मानविय सेवामा पनि समर्पित गराउन रक्तदान कार्यक्रम गरिएको बताए । ‘करिव ३ हजार निर्वाचन प्रहरीमा रक्तदान बारे सचेतना पुगेका छ, उहाँहरुलाई थप जिम्मेवार नागरिक बनाएको छ’–प्रहरी प्रमुख पुरीले भने ।






