चितवनसहित देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ४ किलो ३०० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २९ वर्षीय मुहम्मद राहुफ अरयानथोप र २५ वर्षीया आयशा दिलशा रहेका छन्। थाई एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले जाँच गर्ने क्रममा मुहम्मदको साथबाट करिब २ किलो १४० ग्राम र आयशाको साथबाट करिब २ किलो १६० ग्राम गाँजा जस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २३० मिलिग्राम र नगद १६ हजार ७४५ रुपैयाँसहित झापाको कनकाई नगरपालिका निवासी ३० वर्षीय भिमबहादुर तामाङ पक्राउ परेका छन्।

चितवनको भरतपुर महानगरपालिका–कमलनगरस्थित सब्जीमण्डी क्षेत्रबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम ३७० मिलिग्राम र नगद ३१ हजार ७५ रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २७ वर्षीया आरोही परियार र २८ वर्षीय बिशाल भट्ट रहेका छन्।

यसैगरी सप्तरीको तिरहुत गाउँपालिका–२ बडहराबाट करिब १०५ किलो ५०० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४३ वर्षीय ओमप्रकाश उर्फ जामुन महतो र २८ वर्षीया कबिता कुमारी माझी रहेका छन्। प्रहरीले कंचनपुरबाट डिमनतर्फ जाँदै गरेको अटो जाँच गर्ने क्रममा अटोभित्र रहेका चारवटा बोराबाट उक्त परिमाणको पदार्थ फेला पारेको जनाएको छ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ८२० मिलिग्रामसहित बाँके बैजनाथ गाउँपालिका निवासी २२ वर्षीय कमल शाही पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाट पिपलचौताराबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५० मिलिग्रामसहित ३५ वर्षीय केशब बिष्ट र २३ वर्षीय कृष्ण महरा पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका–११ गौडीबजारका ३४ वर्षीय लोकेन्द्र कठायतलाई ६७० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थसहित पक्राउ गरिएको छ। साथै धनगढी उपमहानगरपालिका–८ बाट भारत लखिमपुर खिरीका २२ वर्षीय राजन गुप्ता १ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थसहित पक्राउ परेका छन्।

त्यसैगरी पर्साको वीरगन्ज महानगरपालिका–१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ हजार ३०० ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राम असिस राउत अहिर र सुबास सराफ रहेका छन्।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस्